
रञ्जन अधिकारी पोखरा, १० माघ / पोखराका प्रथम पर्यटन उद्यमी स्वर्गीय योगेन्द्र भट्टराईको स्मरणमा योगेन्द्र–सीता भट्टराई स्मृति कोषले योगेन्द्र–सीता भट्टराई स्मृति ग्रन्थ प्रकाशन गरेको छ । भट्टराईका छोराछोरीहरु गेहेन्द्रबहादुर (राजु) भट्टराई, महेशबहादुर भट्टराई, शान्ता भट्टराई बिष्ट, ज्वाईं रामबहादुर कोईराला लगायतको सक्रियतामा शनिबार एक समारोहका बीच पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले ग्रन्थको विमोचन गरे ।
थपलियाले होटल लेकसाईडको स्थापनापछि बैदामको फेवाताल किनार क्षेत्र लेकसाईडका रुपमा परिचित भएको थाहा पाउँदा खुशी प्रकट गर्दै पोखराका पहिलो पर्यटन उद्यमी भट्टराईको अकल्पनीय दुर्घटनाबाट भएको निधनले परिवारलाई मात्र क्षति पुगेको नभई समग्र पोखराकै क्षति भएको बताए । ‘समाजमा राम्रो काम ग¥यो भने कदर हुन्छ भन्ने कुरा आजको दिनले पुष्टि हुन्छ’ – थपलियाले भने– ‘पोखराका विकास सम्बन्धमा अहिले भएका प्रयासहरुले स्व. भट्टराईको चाहनालाई सम्बोधन पनि गर्दछ ।’
कार्यक्रमको अध्यक्षता समेत गरेका स्व. भट्टराईका ठूलाकान्छा भाइ रुद्रबहादुर भट्टराईले फिस्टेल लज रहेको जग्गा समेत बाबुले राजपरिवारका नाममा दिएको उल्लेख गर्दै पछि फिस्टेल लज खोलिएपनि पोखरामा पर्यटन तथा होटलको सुरुवात लेकसाईड होटलबाटै भएको स्पष्ट पारे । दाइले पहिलोपटक लेकसाईड होटल सञ्चालन गरेर पर्यटन क्षेत्र अघि बढेको भन्दै उनदले अहिले बैदाम क्षेत्रमा सयौं स्तरीय होटल बनेकोमा आफू हर्षित भएको बताए ।
साहित्यकार अनिल पौडेल, पर्यटनविद् झलक थापा, अग्रज पत्रकार माधव शर्मा, स्व. भट्टराईकी ज्येष्ठ सुपुत्री प्राज्ञ हरिदेवी कोईराला, समकालीन मित्र सूर्यमोहन भट्टराई, सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठ, छोरी शान्ता भट्टराई बिष्ट लगायतले योगेन्द्रबहादुर भट्टराईलाई स्मरण गरेका थिए । पोखराका प्रथम पर्यटन उद्यमी, एक युग चेतना भएका समाजका पथ प्रदर्शक, चौतर्फी दृष्टिकोण राख्न सक्ने, बौद्धिक सुझाव दिन सक्ने क्षमताका स्व. भट्टराई राजनीतिक आस्था जे भएपनि वर्गीय र प्रजातानित्रक विचारधारामा आस्था राख्ने, कृषि पर्यटनको अवधारणा अघि सार्ने व्यक्ति भएको वक्ताहरुले स्मरण गरे । उनीहरुले स्व. भट्टराईका बारेमा अनुसन्धानात्मक खोजको समेत अपेक्षा गर्दै लेकसाईड सडक क्षेत्रलाई उनको नामाकरण गर्नुपर्नेमा समेत ध्यानाकर्षण गराए ।
स्मृति ग्रन्थलाई मोटामोटी १२ खण्डमा विभाजित गरिएको, निबन्ध, स्मृतिजन्य लेख, कविता तथा तस्विरले ग्रन्थ तयार पारिएको सम्पादक सहप्राध्यापक डा. यमबहादुर पौडेल क्षेत्रीले जनाए । २०१९ सालतिरबाटै आफ्नो घरको एक कोठामा पर्यटकलाई सेवा दिएका स्व. भट्टराईले २०२६ सालबाट विधिवत् रुपमा होटल लेकसाईड सञ्चालनमा ल्याएका थिए । त्यसअघि नै उनले २०१७ सालमा फेवा उड वक्र्स् स्थापना गरी औद्योगिक सेवाको सुरुवात गरे भने २०१८ सालमा राईस मिल स्थापना गरी केहिलाई रोजगारी समेत दिएका थिए । २०२४ सालमा सःमील उद्योग स्थापना पनि गरेका थिए ।
१९९६ साल असोज ४ गते जन्मिएका भट्टराईको २०५६ भदौ २० गते जहाज दुर्घटनामा परी निधन भएको थियो । पोखराबाट काठमाण्डौं उडेको नेकोन एयरको विमान थानकोट डाँडामा दुर्घटनामा पर्दा कान्छी पत्नी सीता भट्टराई सहित उनको अल्पायुमै निधन भएको थियो । भट्टराईका दुई पत्नी जगतकुमारी र सीता मध्ये जगतकुमारी तर्फबाट जेठा छोरा गेहेन्द्रबहादुर (राजु) भट्टराई, छोरीहरु हरिदेवी कोईराला, संगीता बस्नेते, लक्ष्मी थापा, गोमा केसी र चन्द्रा केसी तथा स्व. सीता तर्फबाट छोरा महेश भट्टराई, छोरीहरु शान्ता विष्ट, शर्मिला सापकोटा र सरीता केसी रहेका छन् ।
