माई भ्याल्ली कपको उपाधि आर्मीलाई

Share:

इलाम, माघ २४ / विभागीय टोली नेपाल आर्मी क्लबले इलाममा जारी माइभ्याली गोल्डकपको उपाधि हात पारेको छ। यो वर्ष मोफसलमा तेस्रो ठूलो प्रतियोगिता जित्ने क्रममा आर्मीले ललितपुरको थ्री-स्टार क्लबलाई सडन डेथमा हराउँदै तीन लाख नगद पुरस्कार राशीको गोल्डकप हात पारेको हो।

निर्धारित ९० मिनेटमा समयसम्म दुबै टोलीले गोलरहित बराबरी खेलेपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो।

टाइब्रेकरमा ४-४ गोल भएपछि निर्णय सडन डेथमा गयो, जहाँ राष्ट्रिय टोलीका कप्तानसमेत रहेका थ्री स्टारका सागर थापाले गोल गर्न नसकेपछि आर्मी च्याम्पियन बन्यो।
पहिलो खेलमा सिक्किमको सुनाल्चु क्लबविरुद्ध ४-० को नतिजा निकालेको थ्री-स्टारले सेमिफाइनलमा परिचित बलियो प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबको चुनौती

समाप्त गरेर उपाधि नजिक पुगेको थियो । पहिलो चरणमा मोफसलको सशक्त प्रतिद्वन्द्वी झापा-११ लाई निराश पारेको आर्मीले रूपन्देहीविरुद्ध सेमिफाइनलमा ३-० को जित निकालेर फाइनलमा थ्री-स्टारसँगको भेट पक्का गरेको हो ।

पथरी गोल्डकपमा झापा-११ र सिमरा गोल्डकपमा पुलिस क्लबलाई फाइनलमा हराएर उपाधि जितेको आर्मीका लागि फाइनल भिडन्तमा थ्री-स्टारलाई पछिल्ला प्रतियोगितामा पहिलो पटक प्रतिद्वन्द्वी पाएको थियो।

 

तस्विरः गोल नेपाल

कमेन्ट गर्नुहोस्
Share: