
रेम बिक /पोखरा, २५ माघ | फागुन एक गतेदेखि शुरु हुने ‘जंगल फेस्टिभल’को तयारी करिब पुरा भएको छ । आयोजक संस्था परिचय नेपालले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । फेस्टिभलकै लागि आयोजकले नयाँबजारस्थित शान्ति वन वाटिकालाई पुर्ण रुपमा श्रृंगार्ने काम गरिरहेको छ ।
‘अहिले शान्तिवनमा फेस्टिभलको तयारी निकै तिव्र रुपमा गरिरहेका छौँ ।’ परिचय नेपालका सोभित बस्यालले भने–‘दर्शकहरुका लागि शान्तिवन क्षेत्र अरुबेला भन्दा भिन्दै अनुभव हुने खालको हामीले बनाउँछौँ ।’ ‘हरियाली सप्ताह’को थिममा आयोजना हुन लागेको फेस्टिभलमा दर्शकहरुले विभिन्न जातजातिका जनावर, चराचुरुङगीहरुको सामिप्यतामा रम्न पाउने आयोजकले दाबी गरेको छ ।
फागुन १ देखि ७ गतेसम्म फेस्टिभल चल्नेछ । फेस्टिभलमा इन्दिरा जोशी, मिलन अमात्य, आकांक्षा बस्याल, तिलकबम बल्ल, सुगम पोखरेल, विनोद बानियाँ, कमल खत्री, योगेशकाजी सँगै कन्दरा बयान्ड, डिमोर्चा तथा बमबहादुर कार्कीको प्रस्तुती रहने आयोजकले जनाएका छन् । फेस्टिभलमा विश्वप्रसिद्ध ‘सर्कस काठमाडौ’ ले विभिन्न प्रदर्शन गर्नेछ । कमेडियन कलाकार ईकुको पनि विशेष प्रस्तुती फेस्टिभलमा हुनेछ ।
सात दिन सम्म हुने महोत्सवमा विशेष आकर्षणको रुपमा थारु, दरै, बोटे, चेपाङ लगायतका जनजातीको जीवनशैली उतार्न उनीहरुकै शैलीमा घरका डमीहरु बनिसकेका छन् । जंगल भित्र प्रत्यक्ष रुपमा अष्ट्रीच, इमु, मुसाका प्रजाति, खरायो, लेकमा पाइने भेडा, चौरी, याक, बाँदरका विभिन्न नयाँ प्रजाति देखि १८ प्रजातिका चरा देख्न पाईने आयोजकले बताएको वछ ।
फेस्टिभलमा दर्शकहरुले चितवनमा लिइने हात्ती सफारीको मज्जा पनि लिन पाउने उसले बताएको छ । साहसिक खेलहरु पनि फेस्टिभलमा खेलाईनुका साथै गीतसंगीत र खानपान पनि जंगलमै व्यवस्था गरिएको परिचय नेपालका व्यवस्थापक सिद्धार्थ पौडेलले बताए ।
विश्वप्रसिद्धमोटर उत्पादक ‘भक्सवागन’ ब्राण्डले मूख्यप्रायोजन गरेको ईभेन्टलाई पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले प्रस्तुत गर्न लागेको हो । एएचएलसीको सहकार्यमा हुने ईभेन्टमा नेपाल टेलिकम, नेपाल टुरिज्म बोर्ड र पोखरा उपमहानगरपालिका प्रबद्र्धक रहेका छन् । महोत्सवमा ६० लाख रुपैया खर्च लाग्ने आयोजकको अनुमान छ ।

