थ्रिस्टार पुलिसलाई पन्छाउदै १३ औं आहा रारा गोल्डकपको फाईनलमा

Share:

२९ माघ | थ्रिस्टार क्लब पोखरामा जारी १३ औं आहा रारा गोल्डकपको फाईनल प्रबेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा पुलिस क्लबलाई १–० ले पन्छाउदै ललितपुरे क्लब थ्रिस्टार उपाधि होडमा पुगेको हो । प्रकाश बुढाथोकीले गरेको एक मात्र निर्णायक गोललेनै थ्रिस्टारलाई आहा रारा गोल्डकपमा चौथो पटक फाईनल पु¥याएको हो । यसअघि पाचौ, नवौ र ११ औं संस्करणमा फाईनल पुगेको थ्रिंस्टारले तीनै पटक उपाधि जितेको थियो ।

पहिलो हाफ गोल रहित बराबरीमा खेलेको थ्रिस्टारको लागि ६४ औं मिनेटमा जगजित श्रेष्ठको स्थानमा मैदान छिरेका बुढाथोकीले ८५ औं मिनेटमा गोल गरे । पराजयसंगै आहा रारा गोल्डकपको ईतिहासमा ८ पटक फाईनल पुगेर पाच पटक उपाधि चुमेको पुलिस बाहिरियो । यो संगै थ्रिस्टारले पुलिससंग गत माघ ३ गते पोखरा रंगशालामै सम्पन्न मनकामना केबुलकार पोखरा कपको उपाधि होडमा भोगेको पराजयको बदला लिन सफल भएको छ । बिजेता थ्रिस्टारले उपाधिको लागि फागुन २ गते मनाङ र सुदुरपश्चिमाञ्चल बिच भोलि हुने खेलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

बाई पाएर सिधै क्वाटरफाईनलमा खेलेका यी दुवै टिममध्ये थ्रिस्टारले झापा–११ र पुलिसले नवजनजागृति सिमरालाई पन्छाउदै अन्तिम चारको यात्रा तय गरेका थिए । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा दुई बिदेशी सहित १२ टोली सहभागि थिए प्रतियोगिताको बिजेतालाई ३ लाख ५१ हजार र उपबिजेतालाई २ लाख एक हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष बिरभद्र आचार्यले जानकारी दिए ।

यस्तै एक जना सर्बोत्कृष्ट खेलाडिले टिभिएस मोटरसाईकल प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक, मिडफिल्डर, गोलकिपर, स्ट्राईकर र डिफेण्डरलाई जनही १० हजार नगद प्रदान गरिनेछ । सर्वाधिक गोलकर्तालाई भने १५ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई हिमश्री फुड्ले मुख्य प्रायोजन गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: