
रञ्जन अधिकारी पोखरा, ७ फागुन /नेकपा एमालेका सचिव योगेश भट्टराईले सडकमा आन्दोलन गरेर संविधान नबन्ने बताएका छन् । ३० दलीय मोर्चाको आन्दोलन र दबावले संविधान नबन्ने भन्दै उनले सहमतिमा आउन आग्रह गरे । ‘संविधान निर्माण संविधान सभामा हुन्छ’ – उनले भने– ‘आन्दोलनबाट नभई वार्ता, सम्वाद र सम्झौताबाट संविधान बन्छ, ३० दलीय आन्दोलनको तुक छैन ।’
प्रेस चौतारी कास्कीले विहीबार पोखरामा गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले नेपालमा तेस्रो संविधान सभाको निर्वाचन नहुने र यही अन्तिम संविधान सभाले संविधान बनाउने हुनाले आन्दोलनको धम्की छाडेर वार्तामा आउन एकिृकत नेकपा माओवादी सहित दलीय मोर्चालाई अनुरोध गरेका हुन् ।
‘३० दलीय मोर्चाका नेताहरु आन्दोलनको नाममा देश दौडाहामा भएपनि संविधानसभामा फर्किनुको विकल्प छैन ’ उनले भने– ‘दिउँसो चर्न गएका भेडाका बथान जसरी साँझ घर फर्किन्छ, त्यसरी नै संविधानसभा पनि संविधान बाउने घर हो, उहाँहरु नफर्कि सुखै छैन ।’
काँग्रेस र एमाओबादी मिलेर मात्रै सविधान बन्न नसक्ने बताउदै उनले एमाले विना पनि संविधान बन्न सक्छ भन्ने भनाई सार्वजनिक भएकोमा आपत्ति प्रकट गरे । एमालेले एमाओबादीलाई शान्ति प्रक्रियामा ल्याउन थालेको प्रयासले काँग्रेसलाई दबाब परेको बताउदै उनले तीन दल एक ठाउँ उभिएन भने शान्ति प्रक्रिया पनि पुरा नहुने बताए । उनले आगामी १५ गतेभित्र संविधान जारी गनुपर्ने र असोज कात्र्तिकमा स्थानिय निकायको निर्वाचन गर्ने गरि अगाडि बढ्नुर्पेमा जोड दिए । जेठ १५ गतेभित्रै सविधान जारी गर्ने गरि सहमतिका लागी एमाओबादी लगायत मधेशी मोर्चालाई पर्खिन सकिने उनको भनाई छ ।
शर्तले देशलाई सही बाटौमा नलैजाने बताउँदै उनले विना शर्त वार्तामा बस्नुपर्नेमा पनि जोड दिए । ‘१२ बुँदे समझदारी टुङ्गोमा पुगिसकेको छैन’– उनले भने– ‘त्यसैले त्यसलाई टुङ्गोमा पु¥याउन सहयात्री दलहरु बीच सहकार्य जरुरी रहेको छ ।’ संविधानसभामा राज्यको पुर्नसंरचना मुख्य विषय नभई अनुसूचिमा राखिने विषय भएको बताउँदै उनले यसलाई खुल्ला रुपमा छलफल गर्नुपर्ने पनि बताए ।
भट्टराईले न्यायपालिका, निर्वाचन प्रणाली र शाषकीय स्वरुपमा सहमती भैसकेको दाबी गर्दै प्रदेशको नामाकरण र सिमांकनमा साना विवाद रहेको र नमिलेका विषयमा पछि मिलाउने गरि जान सकिने उल्लेख गरे । संविधानसभामा राज्यको पूर्नसंरचना मुख्य विषय नभई अनुसूचिमा राखिने विषय भएको बताउँदै उनले यसलाई खुल्ला रुपमा छलफल गर्नुपर्ने बताए । ‘संविधानको प्रस्तावनामा विवाद छैन । अनुुसूचिमा विवाद गर्नु बेतुकको कुरा हो ।’ उनले भने ।
सचिव भट्टराईले पार्टीभित्र भएका छलफल र बहस सामान्य भएको र जीवन्त पार्टीमा यस्ता विवाद र छलफल स्वभाविक भएको बताउँदै पार्टीलाई कुनै असर नगर्ने स्पष्ट पारे । प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवरको अध्यक्षतमा भएको कार्यक्रममा उपाध्यक्ष सन्तोष अधिकारीले स्वागत र सचिव माधव बरालले संचालन गरेका थिए ।
