छैटौं क्यान इन्फोटेक मेला सुरु

Share:

रञ्जन अधिकारी पोखरा, ८ फागुन / पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि छैटौ संस्करणको क्यान इन्फोटेक–२०१५ सुरु भएको छ । कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान), कास्कीको आयोजनामा सोमबारसम्म चल्ने चार दिने मेलाको उद्घाटन पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले एक कार्यक्रमका बीच गरे ।

प्रमुख अतिथि थपलियाले शहरमा मात्रै होईन गाउँसम्म सूचना तथा सञ्चारको विकासले जीवनशैली सहज बन्दै गएको बताए । क्यान कास्कीले गरेका विभिन्न गतिविधिलाई आपूmले नजिकबाट हेरेको बताउँदै उनले सूचना प्रविधिबारे सर्वसाधारणलाई सुसूचित गर्न क्यान कास्कीको योगदान महत्वपूर्ण रहेको बताए ।

क्यान महासंघका केन्द्रीय अध्यक्ष विनोद ढकालले क्यान कास्की राजधानीबाहिर अन्य जिल्लाको तुलनामा आफ्ना गतिविधि संचालन गर्नमा सक्रियता देखाएको बताए । उनले निरन्तररुपमा क्यान कास्कीले मेला आयोजना गरेको भन्दै प्रशंसा गरे ।

मेलाको मुख्य प्रायोजन गरेको पोखरा इन्टरनेटका संचालक विश्वशंकर पालिखेले क्यान कास्कीसँग जोडिन पाउँदा खशसी लागेको बताए । क्यान कास्कीका अध्यक्ष गुणनीधि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्यानका निवर्तमान अध्यक्ष चण्डिप्रसाद अर्यालले र संचालन महासचिव एवं मेलाका सूचना तथा संचार प्रवक्ता विश्वास भण्डारीले गरेका थिए ।

राजधानीबाहिर नियमितरुपमा आयोजना हुँदै आएको सूचना तथा संचार प्रविधि (आइसिटी) क्षेत्रसँग सम्बन्धित मेला हो । आयोजित मेलामा आइसिटी क्षेत्रका नयाँ–नयाँ प्रविधि एवं उपकरण प्रदर्शन एवं बिक्रीका लागि एक सय १५ वटा स्टल राखिएका छन् ।

मेलामा विभिन्न अफरको सुविधा दिइएको छ । जसमा निःशुल्क कम्प्युटर मर्मत सेवा, एक सय जना विद्यार्थीलाई फ्रि स्कलरसीपमा आफूले अध्ययन गर्न चाहेको कम्प्युटर कोर्ष, ४० जना विद्यार्थीहरुलाई ४५ दिने निःशुल्क हार्डवेयर तालिम तथा रोजगारको अवसर छ । मेलामा बृहत सूचना प्रविधिको प्रदर्शनी, आइटी क्वीज कन्टेष्ट, रोवर्ट एक्पो लाइन सेग्मेण्ट प्रदर्शनी, फ्रि वाइफाइको व्यवस्था रहेको प्रवक्ता भण्डारीले जानकारी दिए । उनले विगतमा कम्प्युटर, ल्यापटपहरुलाई मात्र मेलामा बढी केन्द्रित गरिएकोमा यसपटक भने मोवाइल एसिसरिज र आइटी सम्बन्धी प्रोडक्टहरुलाई पनि प्राथमिकता दिइएको बताए ।

आइसिटी कन्फरेन्स यसअघि नै सम्पन्न गरिसकेको आयोजकले क्षेत्रीयस्तरको खुला टाइपिङ प्रतियोगिता पनि गर्न लागेको क्यानका सचिव एवं प्रतियोगिता संयोजक विकास भुर्तेलले बताए । क्यानका जिल्ला अध्यक्ष गुणनीधि पाण्डेले मेला खासगरी प्रविधिको विकासकर्ता, उपभोक्ता र व्यवसायीबीच एक खालको अन्तरक्रिया तथा जमघट गर्ने उपयुक्त प्लेटफर्म रहेको र अन्य समयको भन्दा मेलामा विभिन्न सामान खरिदमा भारी छुटको व्यवस्था रहेको हुँदा सम्पूर्णलाई मेलाको अवलोकन गरी लाभ लिन अनुरोध गर्दछन् ।

मेला प्रवेशका लागि विद्यार्थीहरुलाई विशेष सहुलियत साथै अनलाइन टिकटमा मात्र १० रुपैयाँ कायम गरिएको सो मेलाको डायमण्ड स्पोन्सरको रुपमा डिजिकम सागर इन्फोसिस र प्लानेट कम्प्युटर, गोल्ड स्पोन्सरमा जेरक्स, हुमेन क्लिक, सिल्भर स्पोन्सरमा सुकाम र नेपाल टेलिकम, टिकट स्पोन्सरमा युनिक पावर सिष्टम तथा आइटी पार्टनरमा वेभसफ्ट छन् । चार दिने सो मेलाको झण्डै एक लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

कमेन्ट गर्नुहोस्
Share: