
पोखरा, १३ फागुन | हातका दशवटै औंलामा ठूल्ठूला औंठी, नाडिमा गुच्चा जस्ता ठूल्ठूला गेडाका माला । घाँटिमा मोटो न मोटो चाँदिको सिक्री । सिक्रीमा झुण्डिएका धारिला हड्डी । कानमा पनि ठूल्ठूला टप । अग्लो र मोटोघाटो अजंगको जिउडाल । त्यसैमा पनि लुज डे«ेसअप । हेयर स्टायल पनि युनिक छ उनको । चारैतिर छोटो र निधारमाथिमात्रै लामो । त्यो पनि गोल्डेन कलरको । भिडभाडमा जव उनी देखिन्छन्, जो कोहिपनि एकैछिन त तर्सिन्छन् । उनलाई फर्कि फर्कि हेरिरहन्छन् र साथीभाइसंग कानेखुसि गरिहाल्छन्–‘अबुई कस्तो डरलाग्दो मान्छे ?’ कोहि यसो भन्छन– ‘हेभि रहेछ यार ।’ अनि कोहि जिज्ञासु भै हाल्छन्– यो मान्छेले कति खाँदो हो ?’
हेर्दै रेस्लर जस्ता उनलाई रेस्लिङपनि मन पर्छ । बक्सिङ्ग, फुटवल, बास्केटवल लगाएत सबैजसो खेल मन पराउने उनी प्राय रंगशालामा देखिइरहन्छन् । उनी हुन् पोखरा–९ न्यूरोडका मिन पुर्जा मगर । ४३ वर्षिया मगर पूर्व भलिवल खेलाडी हुन् । ६ फिट ३ इन्च अग्ला उनी कास्कीबाट जिल्लास्तर सम्मको प्रतियोगिता खेलेका छन् । क्षेत्रिय प्रतियागिताका लागि पनि उनी छनौंट भएका थिए । तर आफ्नों विद्यालयबाट विरेन्द्रशिल्ड खेल्न गए । भलिवलका राम्रा स्पाइकर उनी अम्मरसिंह माविका भूपू विद्यार्थी हुन् । सोम गुरुङ्ग, कृष्ण पण्डित लगाएतका खेलाडीहरु अहिलेपनि सम्झिन्छन् उनी ।
कास्की जिल्ला फुटवल संघका अध्यक्ष धरमबहादुल लामिछाने उनीहरुको टिम व्यवस्थापक थिए । शरिर मेण्टेन गर्नका लागि उनले जिम पनि गरे । तर जिम गर्दा झनै बढि खाना खाइने भएकाले उनले जिम गर्न छाडे । नियमित जिम गर्दा किड्नीमा समस्या पनि देखिएको उनले सुनाए । ‘१ सय ३० किलोको थिएं, तर अहिले केहि घटाएर १ सय २० मा आएको छु’ उनले भने । उनलाई मासु असाध्यै मन पर्छ ।
साधारणतया खानेकुरापनि उनले अरुको भन्दा चार गुणा बढि खान्छन् । हार्ड ड्रिङस अहिले सम्म नगरेपनि वियर भने एक कार्टुननै खाइदिन्छन् । उनको जिउडाल हेरेर उनलाई ठूला पर्दाका फिल्मा समेत अफरहरु आएका थिए । निर्माता निर्देशकहरु उनलाई लिन घरमै पनि आए । तर मात्रै २० वर्षको उमेरमा कोरिया छिरेका मगरले त्यहाँ साढे पाँच वर्ष र त्यसपछि हङकङमा ७ वर्ष विताए । हङकङ आइडी भएका उनी अहिलेपनि प्रत्येक तीन वर्षमा आइडी रिन्यु गर्न हङकङ गै रहन्छन् ।
हङकङमा रहँदा उनले सम्दध जी, पोष्ट नं. सिक्स लगाएतका फिल्मका अभिनय गरे भने नेपाल आएपछि मगर भाषाको रेयाँ, गुरुङ्ग भाषाको नरे, तिम्रो कसम, ३५ दिन तथा नेवारी भाषाको चण्डालिकामा अभिनय गरेका छन् । मिलन गुरुङ्गद्वारा निर्मित ‘माया गर्नेलाई माया नमार’मा पनि उनलाई मुख्य भिलेन रोलका लागि अफर आएको थियो । तर हङकङ जानुपर्ने भएकाले उनले त्यस फिल्मलाई समय दिन सकेनन् ।
मिन पुर्जा हेर्दा जस्तो देखिन्छन् व्यवहारमा भने त्यस्तो छैनन् । देख्नेहरु उनलाई झगडालु वा रिसाहा ठान्लान् । तर उनी अत्यन्तै मिलनसार र शान्त स्वभावका छन् भने सवैसंग राम्रो व्यवहार गर्छन् ।
– विनोद लामिछाने

