
१५ फागुन | नेपाली फिल्म अझै पनि यो शुक्रबारदेखि देशव्यापी रुपमा प्रदर्शनमा आएको छ । स्वर्गीय आलोक नेम्बाङको अन्तिम फिल्मलाई फिल्मकर्मी र दर्शकहरुले लामो समय यता कुरेर बसेका थिए । आलोकको अन्तिम कोशेली भएको कारण पनि दर्शकको लागि यो पर्खाईको फिल्म बनेको थियो ।
केहि दिन अगाडि फिल्मकर्मी र संचारकर्मीमाझ गरिएको प्रिमियरबाट पनि फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया आएको थियो । पोखरामा पनि यो फिल्म हेर्नका लागि दर्शकहरु हलसम्म निकै आएको हलसंचालकले बताएका छन् ।
स्वयं आलोक नेम्बाङले पनि यो फिल्मलाई विशेष रुपमा लिएका थिए । फिल्मको घोषणा गर्दै गर्दा निकै हर्षित मुद्रामा फिल्मको बारेमा आलोकले भनेका थिए–‘यो फिल्म मैले गर्नुको कारण सुदर्शन थापा, यसको साँगीतिकि पक्ष र स्टोरीलाईन नै हो ।’ यद्यपी आलोक आफैले आफ्नो फाईनल काम भने हेर्न पाएनन् । यद्यपी फिल्म हेर्ने सबैले उत्कृष्ट फिल्म बनेको प्रतिक्रिया दिएका छन् ।
फिल्मका मुख्य कलाकार सुदर्शन थापा पनि आलोकलाई निकै राम्रो निर्देशकको रुपमा सम्झन्छन् । आफै निर्देशक रहेर काम गरिरहँदा पनि उनले अभिनय गर्ने भएका कारण निर्देशनको जिम्मा आलोकलाई सुम्पेका थिए । आलोकको कामबाट निकै प्रभावित भएर आफै निर्माता समेत रहेको फिल्मको निर्देशन जिम्मा दिएको सुदर्शन बताउँछन् । ‘आलोक दाई नहुँदा हामीलाई न्यास्रो लागेको छ । तर उहाँले स्केच गरेर छोडेअनुसारकै फिल्म हामीले हलसम्म ल्याएका छौँ ।’ सुदर्शनले भने ।
फिल्मलाई डिजाईनर पुनम गौतम र सुदर्शन थापा मिलेर निर्माण गरेका हुन् । फिल्ममा सुदर्शनसँगै पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।

