
काठमाडौं, फाल्गुन १८ – एक वर्षअघि सातबुँदे सहमतिमार्फत् काग्रेससँग सत्ता साझेदारी गरेको एमालेले सरकारमा सहभागिताको औचित्यतामाथि पार्टीभित्र समिक्षा गर्न थालेको छ । संविधान निर्माणको मुख्य उद्देश्यसहित सत्तामा सहभागी भएकाले त्यो काम अघि बढ्न नसक्दा सरकारमै रहने कि नरहने भन्ने प्रश्न उठ्न थालेको विश्लेषण एमालेको छ ।
स्थायी कमिटीको सोमबारको बैठकमा संविधान निर्माण र सरकार सहभागिता सम्बन्धमा छलफल गर्दै कसरी अघि बढ्ने भन्नेमा अब सत्ता साझेदार मुख्य दल काग्रेससँग मंगलबार गम्भिर छलफल गर्ने निर्णय गरेको छ । यदि तत्कालै सहमति वा प्रक्रियाबाट संविधान जारी गर्नेमा कांग्रेस अग्रसर नभएमा सरकारबाट बाहिरिने बारेमा समेत एमाले बैठकमा छलफल भएको बताइएको छ ।‘सरकार बनाउनुको मुख्य उद्देश्य नै संविधान निर्माण हो’ बैठकपछि एमाले प्रचार विभागको समेत जिम्मेवारी सम्हालिरहेका सचिव प्रदीप ज्ञवालीले , ‘यदी त्यो काम नै अघि नबढ्ने हो भने सरकारमा किन बसिरहने भन्ने प्रश्न आउँछ, यसमा हामी कांग्रेससँग सार्थक कुराकानी गर्छौं ।’
हामी संविधान निर्माणका लागि सरकारमा सहभागी भएका हौं, झण्डा हल्लाउन र दुई चारवटा राजनीतिक नियुक्ति गर्न होइन’ बैठकपछि सचिव ज्ञवालीले भने-‘संविधान नबन्ने अवस्थामा सरकारमा बसिरहनु उपयुक्त हुँदैन’ । एमालेले एमाओवादी नेतृत्वको विपक्षी मोर्चासँग सहमतिको सम्भावना सकिँदै गएको निष्कर्षसहित संविधानसभाको बैठक तत्काल बोलाउन कांग्रेससँग छलफल गर्ने निर्णय लिएको छ । बैठकमा नेताहरुले एकपटक विपक्षी मोर्चासँग निर्णायक ढंगले वार्ता गर्नुपर्ने र त्यसपछि पनि सहमति नभए पर्खिन नसकिने बताएका थिए । तर, कांग्रेस नै ढुलमुलमा रहेको भन्दै एमाले नेताहरुले यसबारे कांग्रेससँग छलफल गर्ने भएका छन् । त्यसैले अब संविधानसभाभित्रको प्रक्रिया अघि बढाउन उसले काग्रेसलाई समेत दबाब दिन थालेको छ ।
एमाओवादीको नियत संविधानसभाबाट संविधान जारी गर्नेखालको देखिएन, सहमतिको सम्भावना कमजोर बन्दै गएको निष्कर्ष बैठकले निकालेको छ’ सचिव ज्ञवालीले अभने-‘भोलि मंगलबार कांग्रेससँग संविधानसभा बैठक आह्वान गर्नेबारे छलफल गर्छौं ।’पछिल्लो समयमा विपक्षी दलका नेताहरुले अनौपचारिक रुपमा शक्ति वाँडफाँटकोको प्रसंग उठाउने गरेका छन् । यदि सहमतिका लागि सरकार नै मुख्य कुरा हो भने त्यससमेत छलफल गरेर अब छिटो टुंगोमा लगाउनुपर्ने एमालेको धारणा छ ।
सरकारमा कांग्रेसको असर देखिन थाल्यो’
सहमतिको नाममा संविधान निर्माणको कामलाई रोकेर कांग्रेस समेत आफ्नो महाधिवेशन लगायतका आन्तरिक कामका बढी ध्यान दिन थालेको हो कि भन्ने आशंका एमाले नेताहरुको छ । कांग्रेसले केन्द्रीय कार्य समिति बैठकबाटै सहमतिकै आधारमा संविधान जारी गर्ने निर्णय लिनु र नेताहरुले आफू अनुकूलका कुरा गर्नुलाई एमालेले शंकाको दृष्टिले हरेको नेताहरुले बताएका छन् ।
कांग्रेसको यसैसाता सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सहमतिकै आधारमा संविधान बनाउने निर्णय गरेको थियो । कांग्रेसको यस्तो निर्णयप्रति एमालेले असन्तुष्टि जनाएको छ । एमाओवादी सहमतिमा नआउने निश्कर्षसहित एमाले तत्काल संविधानसभाको प्रक्रिया अगाडि बढाउनुपर्ने पक्षमा उभिएको छ ।
सोमवारको बैठकमा संविधान निर्माणकै सन्दर्भमा छलफल भएकाले कार्य बिभाजन र बैकल्पिक केन्द्रीय सदस्य मनोनयन हुन नसकेको सचिव पृथ्वीसुब्बा गुरुङले बताए ।
