पोखरामा रुचाईयो ‘बहुला काजीको सपना’

Share:

रेम बिक पोखरा, १८ फागुन । नाटककार विजय मल्लले लेखेको नाटक ‘बहुलाकाजीको सपना’ पोखरामा मञ्चन भएको छ । पोखरा सभागृहमा भएको नाटक विशेष गरि विद्यार्थीहरुले अत्याधिक रुचाए । काठमाण्डौको माउन्ट फायर थियटरले नाटकलाई पोखरा ल्याएको थियो ।

सोमबार दिनभरि तीन शो नाटक मञ्चन भएको थियो । नाटक हेर्नका लागि अधिकांश कलेजका विद्यार्थीहरु सभागृहमा पुगेका थिए । नाटक हेरिसकेपछि उनीहरुले कथावस्तु र कलाकारहरुको अभिनयलाई प्रशंसा गरे । विजय मल्लले २००४ सालमा लेखेको नाटक अहिलेसम्म पनि उत्तिकै समयसापेक्ष रहेको भन्दै उनीहरुले कथाले दिएको सन्देशले मन छोएको प्रतिक्रिया दिए । पाठ्यक्रममा पनि विजय मल्लले लेखेको नाटक ‘बहुलाकाजीको सपना’ पढिसकेकोले स्टेजमा हेर्दा झन् बुझिएको विद्यार्थीहरुले बताए ।

पोखरामा मञ्चन भएको नाटक ‘बहुला काजीको सपना’लाई सुरज अधिकारीले निर्देशन गरेका हुन् । नाटकमा बहुलाकाजीको रुपमा कलाकार एवनराज उप्रेती देखिएका छन् । त्यस्तै मानेको भुमिकामा आदर्श घिमिरे, भक्तेको भुमिकामा सुरज अधिकारी, गिरेको भुमिकामा कुमार सिम्खडा मञ्चमा देखिए । न्यारेटरको रुपमा मोडल रिजन थापा रहेका थिए ।

नाटक ‘बहुला काजीको सपना’ यसअघि पनि पटक पटक काठमाण्डौमा मञ्चन भैसकेको छ । पोखरामा मञ्चन गर्दा यहाँको दर्शकबाट पाएको साथबाट आफुहरु निकै उत्साहित भएको निर्देशक सुरज अधिकारीले बताए ।

नाटकको सबै पक्ष राम्रो भएपनि उपयुक्त हल नहुँदा धेरैले न्यास्रो प्रकट गरे । सभागृह हल नाटकको लागि उपयुक्त नभएकोले दर्शकहरुले पोखरामा नाटककै लागि विशेष हल निर्माण भएको खण्डमा अझै राम्रो हुने सुझाव दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: