सम्झौता गरी संविधान बनाए ज्यानकै खतराः प्रचण्ड, सहमतिय वातावरण निर्माणमा अब एमाओवादी पुरै लचिलो

540
0
Share:

रञ्जन अधिकारी पोखरा, २० फागुन / एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौता गरी संविधान बनाए ज्यानकै खतरा रहेको बताएका छन् । प्रचण्डले आफू र पार्टी संविधान निर्माणमा सकारात्मक रहँदा रहँदै गिभ एण्ड टेक गरी सहज वातावरण निर्माण गरे भने खतरापूर्ण अवस्था रहेको भन्दै भय प्रकट गरे ।

जिविस कास्कीको २३ औं परिषद्को उद्घाटन गर्दै प्रचण्डले सम्झौता गरी संविधान बनाएमा वा वातावरण निर्माण गरेमा मदन भण्डारी जस्तो अवस्था आफूमाथि पनि आउने बताए । ‘मैले अलिकति दाह्रा किटेर संविधान बनाएँ भने, थोरै सम्झौता नगरी, गिभ एण्ड टेक नगरी त संविधान बन्दैन, यस्तो वातावरण बनाएँ भने फेरि ममाथि कहिँकतैबाट हुन्छ, विपी माथि भएजस्तै, मदन भण्डारीमाथि भए जस्तै, भीम मल्लमाथि भएजस्तै, ममाथि भन्नाले व्यक्तिगत नठानिदिनुहोला ।’ प्रचण्डले भने ।

यो देशको भलो गर्छु भन्नेमाथि हुन सक्ने खतरालाई रोक्न सक्ने जनता पुगे कि पुगेन भन्नेमा पनि ख्याल गर्न आग्रह गर्दै प्रचण्डले जसको शक्ति उसकै भक्ति गाउने काम गर्न नहुने बताए । प्रचण्डले भने– ‘हामीलाई भगवानले पनि बचाउन सक्दैन तर जनताले विवेक प्रयोग गरेर हाम्रो मान्छेमाथि खतरा आयो, हामी मान्दैनौं भन्ने जनता भ एभने आफ्नो नेता र नीतिसँगै देशको रक्ष ागर्न सक्छ । उनले मुद्धा छाडौं भने प्रचण्ड चिप्लियो भन्ने आरोप आउने र नछाडौं भने संविधान पनि नबन्ने, आफूले केहि नगरेजस्तो संविधानको बाधक भयो भन्ने पनि आरोप आउने भन्दै गुनासो पनि गरे ।

संविधान निर्माणका लागि आफू र आफ्नो दल गम्भीर रहेको उनको भनाई छ । सत्तापक्ष दलसँग वार्ता गरेर औपचारिक रुपमा सहमतिमार्फत नै संविधान निर्माणका लागि बाटो खोल्न आफू तयार रहेको बताए । विहीबार बिहानै प्रधानमन्त्री र सत्तापक्ष दलहरुका शीर्ष नेतासँग छलफल गरी सहज वातावरण निर्माणको पहल थाल्ने उनले जनाए । ‘म र मेरो पार्टी संविधान बनाउने पक्षमा छ’ – प्रचण्डले भने– ‘सहमतिबाट संविधान बनाउने प्रक्रिया थाल्न औपचारिक वार्ताको वातावरण बनाउन आफ्नो ठाउँबाट पुरै लचिलो हुने विश्वास दिलाउन चाहन्छु ।’

सत्तापक्ष दलहरु प्रक्रियामा जानका लागि पेलेरै अघि बढ्न मनशायमा रहँदा आफू विक्षिप्त भएको भन्दै प्रचण्डले एमाओवादी, मधेशवादी दलहरुलाई पाखा लगाएर बनेको संविधान कामै नलाग्ने चेतावनी पनि दिए । राज्य पुर्नसंरचनाका क्रममा पाँच जिल्लामा देखिएको समस्या प्रतिपक्षी दलहरुको कारण नभएको उनको भनाई छ । उनले आन्दोलन गर्ने मोर्चामा पनि विभिन्न प्रवृत्ति घुसेको हुन सक्ने स्वीकार गर्दै प्रक्रियाको रटान दिनेहरुमा पनि देश नै भड्खालोमा हाल्न खोज्ने व्यक्तिहरु रहेको बताए ।

उनले विस्तृत शान्ति सम्झौतामार्फत सुरु यो दलीय सहकार्यलाई निरन्तरता दिने र मुलुकमा शान्ति प्रक्रियासँगै संविधान निर्माण गर्ने मुख्य दायित्व गिरिजाबाबु पछि आफ्नै भएको भन्दै यसमा आफू प्रतिबद्ध रहेको बताए । आफूले जालझेल र ढाट्ने काम गर्न नजानेको बताउँर्दै त्यसैकारण आफूले यो पाँच सात वर्षमा बोलेरै धेरै काम बिग्रेको महसुस गरेको स्वीकारे । ‘कास्की जिल्लाको हावापानीमै त्यस्तो छ कि मैले ढाँट्ने काम भन्ने आउँदै आउँदैन । तपाईंले भावनामा डुबाईदिनुभयो भने मैले सबै कुरा ओकल्न नि बेर छैन ’ – ठट्यौली पारामा उनले भने – ‘देशको हितका लागि, शान्तिका लागि, परिवर्तनका लागि सबै कुरा जहाँतही भन्न पनि हुने रैनछ । यही बोली नै अभिसाप बन्ने रहेछ ।’

उनले एमाओवादी जातिवादी नभएको र नरहने बताउँदै बहुपहिचानलाई नै जोड दिएको बताए । कास्की जन्मथलो भएकाले पनि यस जिल्लाको समग्र विकासका लागि प्रतिबद्ध रहेको भन्दै उनले अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यासको क्रममा रहेको र पोखरा चक्रपथको अवधारणा समेत अघि सारे ।

कार्यक्रममा नेपाली काँंग्रेस कास्कीका सभापति समेत रहेका सभासद् यज्ञबहादुर थापाले ९५ औं बैठकपछि संविधानसभा आफूजस्तै थला परेको बताउँदै सौम्य, सार्थक सम्वाद थालनी गरेर संघीय गणतन्त्रात्मक संविधान निर्माणका लागि ढिलो नगर्न प्रचण्डलाई आग्रह गरे ।

काँग्रेस नेता तथा पूर्वसांसद शुक्रराज शर्माले गिरीजाबाबुपछिका राजनेता प्रचण्डले ईतिहासमा आफ्नो नाम लेखाउने अवसर नचुकाउन आग्रह गर्दै सहयात्री दलहरुलाई साथमा लिएर संविधान निर्माण प्रक्रियामा जुट्न आग्रह गरे ।

सभासद्हरु नेकपा एमालेका चुडामणि जंगली, सीता गिरी ओली, नेपाली काँग्रेसका शारदा पौडेल, वृन्दा रानामगर, एमाओवादीकी तेजकुमारी पौडेल लगायतले जनताको चाहना अनुसार अब संविधान निर्माण प्रक्रियामा ढिलाई गर्न नहुने बताएका थिए ।

नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, एमाओवादी कास्की अध्यक्ष दिपक कोईराला, राप्रपा नेपालका वरुण विक्रम राणा, राप्रपाका कार्यवाहक अध्यक्ष नरहरि तिमिल्सिना, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष शंकर बराल, नेकपा माले कास्की सचिव होमनाथ गिरी, संघीय समाजवादी पार्टीका दीपक तामाङ, अखण्ड नेपाल कास्कीका अध्यक्ष निरबहादुर केसी, नेकपा माओवादीका कास्की सेक्रेटरी, अर्जुन छन्त्याल, नेकपा एकीकृतका सचिव भीम श्रीष लगायतले बोलेका थिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले प्रमुख अतिथि प्रचण्डप्रति लक्षित गर्दै मानवसागर अगाडि ठूला मिडियाका नाममा तुच्छ गाली नगर्न आग्रह गर्दै यसकै प्रभावले अहिले राष्ट्रिय चर्चामा रहेको दुई पत्रकारमाथि अख्तियारको मुद्धा पनि हो कि भन्दै आशंका व्यक्त गरे ।

 

कमेन्ट गर्नुहोस्
Share: