
रञ्जन अधिकारी पोखरा, ३० फागुन / सराङकोटमा बस दुर्घटनापछि सो सडकखण्ड अन्तर्गत बन्द रहेको बस सेवा आईतबारदेखि सञ्चालन हुने भएको छ । गत फागुन २२ गते पोखरा कास्कीकोट सडकखण्ड अन्तर्गत सराङकोटको सौर्यनीधारामा बस दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए भने ५५ जना घाईते भएका थिए । त्यसयता सो सडकखण्डमा बस सञ्चालन हुन सकेको थिएन ।
ढिकुरपोखरी १– कास्कीकोट– सराङकोट सडक उपभोक्ता समितिका उपाध्यक्ष टंक सुवेदीका अनुसार सडक स्तरोन्नतिको माग, पृथ्वी बस व्यवसायी समिति जवाफदेही बन्नुपर्ने मागका साथै सिंगो सराङकोट कास्कीकोट बासी शोकमा रहेकाले बस सेवा स्थगन गरिएको थियो । व्यवसायी समितिले मृतकका परिवारलाई राहत, घाईतेको सम्पूर्ण उपचार खर्च व्यहोर्नुका साथै क्षमता भन्दा बढि यात्रु नचढ्ने, नचढाउने, बस लाईसेन्सप्राप्त चालकले मात्र चलाउने, पुराना गाडी विस्थापन गरी सो रुटमा नयाँ गाडीहरु थप्ने लगायतका सहमति भएपछि बस सेवा सुरु गरिएको हो ।
यस्तै, हरेक महिना पहिलो शनिबार यातायात सम्बन्धमा सचेतना कार्यक्रम गर्ने सोच पनि अघि बढाएको सुवेदीको भनाई छ । मृतकका परिवारले शनिबारसम्म जनही २५ हजार प्राप्त गरिसकेका छन् भने बाँकी एक लाख रुपैंया तत्काल दिने सहमति भएको उनले बताए । घाईतेहरुको काठमाण्डौंका साथै पोखराका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
