
हुम तमु पोखरा ४ चैत । पहिचान सहितको संघीय संविधान निर्माणका लुागि सम्झौताहीन आन्दोलनरत आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल, तमुवान प्रादेशिक समितिले बुधवार पोखरामा बृहत जनप्रर्दशन र सभा सम्पन्न गरेको हो ।
तमुवानको राजधानी पोखराको चिप्लेढुंगाबाट मौलिक भेषभुषा, झाकी, बाजागाजासहित शुरु भएको विशाल जुलुस महेन्द्रपुल, भिमसेन चोक, नयाबजार, लखनचोक, बुद्धचोक, अमरसिंह चोक हुदै अमरसिंह चौरमा पुगी सभामा परिणत भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रवक्ता प्रा.डा. ओम गुरुङले आफुहरुले पहिचान सहितको अधिकार सुनिश्चितता चाहेकामा सत्तासीनहरुले अनेक भ्रम फिजाएर पहिचानलाई जातियता, साम्प्रायिकतासग जोडेर भ्रम फिजाइएकोमा आपत्ति जनाउनुभयो । पहिचान सुनिश्चितताका लागि आन्दोलित हुनुपरेको भन्दै प्रवक्ता गुरुङले पहिचानसहितको संघीय संविधान नदिए आफैले संविधान घोषणा गरी तमुवान प्रदेश स्थापना गर्ने चेतावनी दिनुभयो ।
प्रमुख अतिथि गुरुङले आदिवासी जनजाति महासंघका अध्यक्ष र महासचिवले निहित स्वार्थका कारण आदिवासी जनजातिका अधिकार, मुद्धालाई धोका दिई अधिकारका लागि आन्दोलित नभएका कारण अधिकार सुनिश्चित गराउन आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल गठन गरी आन्दोलित भएको स्पष्ट पार्नुहुदै पहिचानसहितको संघीयताको मुद्धाका बोके ३० दलीय मोर्चा मात्रै नभई अन्य दलहरुसग पनि सहकार्य गर्ने बताउनुभयो । दुइवर्ष यही मञ्चबाट तमुवानको निम्ती कडा भाषण गर्ने आदिवासी जनजाति नेताहरु पृथ्वीसुब्बा गुरुङ, इन्द्रबहादुर गुरुङहरुलाई सोच्न आग्रह गर्नुहुदै दोहोरो भुमिका खेल्ने आदिवासी जनजाति संघ संस्थाहरुलाई सच्चिन आग्रह गर्नुयभो ।
विशाल सभालाई सम्बोधन गर्नुहुदै आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका निर्देशक नेता वर्षमान पुनले न्यायप्रेमी परिवर्तनगामी जनताको आन्दोलनहरुको उपलब्धीहरुलाई संस्थागत नगरिएका कारणले मुलुक संक्रममा फसीरहेको बताउनुभयो । आदिवासी जनजातिको पहिचान, समावेशीता र समानुपातिक प्रतिनीधित्व सुनिश्चितताको मागलाई संवोधन गरिनुपर्ने उहाको भनाई थियो । सहमतिबाट अधिकार प्राप्ति नहुने भएकाले आन्दोलित भएको पुनले बताउनुभयो ।
कार्यक्रममा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका अर्का निर्देशक देव गुरुङले आफुले जातिय पहिचान नभएर उत्पिडितको पहिचान मागेको बताउनुहुदै विगतदेखि विभेदमा पारिएका जातिय, भाषिक, धार्मिक, सास्कृतिक, लिंगिय, क्षेत्रीय, वर्गिय रुपमा विभेदमा पारिएकाहरुलाई राज्यसत्तामा समाज हिस्सेदारको माग गर्नुभयो । सत्तासीन काग्रेस एमालेहरु विगतका सहमतिबाट पछि हटेका कारण अधिकार सुनिश्चित गराउन आन्दोलित हुनुपरेको गुरुङको भनाई थियो । वर्तमानको संविधानसभामा दुईतिहाई भएको सत्तासीनसग एक तिहाईले वार्तामा बसेर अधिकार प्राप्त गर्न सक्दैन, त्यसैले अधिकार आन्दोलनबाटै सुनिश्चित गर्नुपर्छ, उहाको जोड थियो । पहिचान सहितको संघीय संविधान निर्माणका लागि सम्पूर्ण जनजातिलाई एक भएर संघर्षमा उत्रन गुरुङको आग्रह थियो ।
यसरी नै अर्का निर्देशक एम एस थापामगरले राज्य पुनसंरचना समिति र आयोगका प्रस्ताव विरुद्ध सत्तासीनहरु दुई तिहाईको घमण्डले मुलुकलाई अनिश्चितता तर्फ धकेलेको बताउनुभयो । सत्तामा रहेकाहरुले पहिचानलाई इन्कार गरे तिनको हविगत भविष्यमा देखिने चेतावनी दिनुभयो ।
यसरी नै मन्तव्य व्यक्त गर्नुहुदै आदिवासी जनजाति महासंघका निवर्तमान महासचिव आङकाजी शेर्पाले पहिचानको विरुद्ध भ्रम फिजाउने, आदिवासी जनजातिलाई मान्छे समे नदेख्ने केपी ओलीको नसच्चिए लिवियाको कर्णेल गद्धापीको हालत हुनसक्ने बताउनुभयो । यसैगरी सभापुख सुवास नेम्बाङले पहिचान विरुद्धको संविधान बनाउन जवरजस्त प्रक्रियामा गए भने र पहिचानको आन्दोलनमा तमु ह्युल छोज धिंका केन्द्रीय अध्यक्ष नसच्चिए ओलीकै हालत हुने चेतावनी दिनुभयो । आफुहरुले जातिय राज्य नमागे बताउनुहुदै उहाले पहिचान विरोधी संविधान जारी गरे संविधानसभा भित्रै जलाउने उद्घोष गर्नुभयो ।
आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल तमुवान प्रादेशिक समितिका सल्लाहकार गणेशमान तमुले संघीयतामा पहिचान छ, पहिचानमा तमुवान र तमुवानमा अधिकार भएकाले आदिवासी जनजातिलाई अधिकार दिन नचाहनेले षडयन्त्र गरेको आरोप लगाउनुभयो । आजसम्मको आन्दोलनले प्राप्ति गरेको उपलब्धी संस्थागत हुन नसक्दा समस्या उत्पन्न भएको भन्दै २०६९ सालमा यही मञ्चबाट तमुवान आयो आयो भनेर कुर्ली कुर्ली भाषण गर्ने आदिवासी जाति नेताहरु भनाउदा जसरी आफुले कहिलै जनतालाई धोका नदिने प्रतिवद्धता व्यक्त गर्दै अधिकारका लागि एकताबद्ध आन्दोलनमा जुट्न आग्रह गर्नुभयो ।
आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल तमुवान प्रादेशिक समिति संयोजक राजकाजी गुरुङको अध्यक्षता र प्रवक्ता दीपक तामाङको सञ्चालनमा भएको विशाल जनसभामा तमु धिं नेपालका महासचिव रुद्रकुमारी तमु मैना, फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङ र आदिवासी जनजाति महिला अधिकारकर्मी ज्योति भट्टचन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सभामा तरेली सास्कृतिक परिवार, सम्झना कला केन्द्र, प्राचीन नेपाल, पुन मगर समाज नेपाल, कुमाल समाज गोर्खा, उपल्लो चरा गाउ लगायतका समुहले आदिवासी जनजातिका मौलिक संस्कृति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा तमुवानका जिल्ला जिल्ला र विभिन्न संघ संस्था, जातिय मोर्चाहरुको बृहत सहभागीता रहेको थियो ।
