
रञ्जन अधिकारी पोखरा, ७ चैत /माक्र्सवाद युगकै सबैभन्दा उन्नत विज्ञानसँग सम्बन्धित व्यवहारिक दर्शन भएकाले कालजयी पुरुष काल माक्र्सको सिद्धान्तलाई समयानुसार परिमार्जन गर्दै समुन्नत बनाईनुपर्नेमा जोड दिईएको छ । द्वन्द्वात्मक भौतिकवादी तथा ऐतिहासिक भौतिकवादी सर्वहारावर्गको दर्शन नै माक्र्सवाद भएकाले मुलुक अनुसार, यहाँको संस्कृति अनुसार सुधार गर्दै जानुपर्नेमा वक्ताहरुको जोड छ ।
पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठानले पोखरामा शनिबार आयोजना गरेको ‘२१ औं शताब्दीमा माक्र्सवादको सान्दर्भिकता’ विषयक अन्र्तक्रियामा वक्ताहरुले नेपालमा कम्युनिष्ट विचारधाराका दुई तिहाई व्यक्ति राज्यसत्तामा रहेपनि मिलेर अघि बढ्नुपर्नेमा दुई ध्रुबमा उभिनु चिन्ताको विषय भएको बताए । कम्युनिष्टका खोल ओढेर सच्चा कम्युनिष्टकै खिल्ली उडाएको भन्दै वक्ताहरुले आक्रोश पनि व्यक्त गरे ।
प्रकृति, समाज, राज्यव्यवस्था आदिका बारेमा कार्लमाक्र्ससँगै फ्रेडरिक एङ्गल्सले महान खोज र प्रयोगद्वारा निकालिएको वैज्ञानिक तथा क्रान्तिकारी विचार सिद्धान्तर व्यवहार नै माक्र्सवाद हो । माक्र्सवादले पूँजीपतिवर्गको राज्यव्यवस्थालाई ध्वस्त पारी सर्वहाराको राज्यव्यवस्था स्थापना गर्ने सही क्रान्तिकारी बाटो देखाउँछ । यसै माक्र्सवाद र एक्काईशौं शताब्दिमा यसको सान्दर्भिकता विषयमा प्रगतिवादी लेखक रामराज रेग्मीले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तोता रेग्मीले यो युगमा माक्र्सवादको सृजनात्मभक प्रयोग सम्बन्धमा केहि सवालमा ध्यान दिनुपर्ने भन्दै सुझाव समेत राखे । प्रतिक्रान्तिका शिक्षा सहितको माक्र्सवाद अंगाल्दै विश्व कम्युनिष्टि आन्दोलनमा जुन प्रतिक्रान्तिको स्थिति देखापरेको छ, त्यसको आत्मगत कारण पहिचान गरी सच्याउने दिशातिर लाग्नुपर्नेमा उनको जोड छ ।
‘हिजो सर्वहारा वर्गको अधिनायकत्वको ठाउँमा एउटा पार्टीको अधिनायकत्व र पार्टीको अधिनायकत्वको ठाउँमा मुठ्ठीभर व्यक्तिहरुको जुन अधिनायकत्व स्थापित हुन गयो र कम्युनिष्ट सत्ता निरङ्कुशहरुको शासन हुन गयो अव यस्थो अवस्था दोहोरिनुहुन्न ।’ उनको ठम्याई थियो – ‘केन्द्रियतालाई खारेज गरी सर्वहारा राजसत्तामा सामुहित नेतृत्व स्थापना गर्न जोड दिनुपर्छ । नीजि सम्पत्तिलाई उन्मुल्न गर्ने क्रममा केव राज्यको स्वामित्वलाई अन्त्य गरी जनताका विभिन्न समुदाय संलग्न विभिन्न प्रकारका सामुहिक स्वामित्व स्थापना गर्नतर्फ लाग्नुपर्छ ।’
क्रान्ति र बलप्रयोगको मार्गलाई त्यागी संशोधनवाद अंगाल्दै आन्दोलन र लोकतान्त्रिकरणको नाममा संसदवादलाई अंगाल्न पुगेको स्थिति रहेको भन्दै उनले शास्त्रीय माक्र्सवाद पुरानो र समयानुकूल नभएको भन्दै नव माक्र्सवाद वा नव वामपन्थको नाममा माक्र्सवादी आन्दोलनमा विभिन्न विकृति भित्राएको भन्दै उनले चिन्ता पनि व्यक्त गरे ।
टिप्पणी गर्दै प्राध्यापक डा. लेखनाथ भट्टराई र प्रा.डा. पशुपतिनाथ तिमल्सेनाले कम्युनिष्टहरुमा सुधार नै गर्नुहुन्न भन्ने एउटा रोग देखा परेको तर यसलाई समयसापेक्ष सुधार गर्नुपर्ने उल्लेख गरे । भट्टराईले चीनमा बल्ल पूँजीवाद आएको जनाउँदै समाजवाद पछि पुँजीवाद मेल नखाएको बताए । माओले हतार गरेकै कारण त्यहाँ आजको अवस्था देखापरेको र शोभियतहरुले समयानुसार अघि बढाउन नसक्दा कम्युनिष्टहरु पछि परेको जनाए । उनले माक्र्सवाद अघि बढाउन निरन्तर अनुसन्धान र विकास आवश्यक हुने भन्दै सम्पतिको सवाल पनि व्यक्ति होईन समाज हावी हुनुपर्ने बताए । कम्युनिष्ट पार्टी भन्ने तर सांस्कृतिक रुपमा कुन संस्कृतिको दास भईरहेको हेक्का नभएको बताउँदै उनले जातियताका प्रश्वहरु जसरी उठिरहेका छन् यसबारे पनि बहसको खाँचो औंल्याए ।
अर्का टिप्पणीकार डा. तिमिल्सेनाले माक्र्सवादी चिन्तन बोकेका पार्टीका दुई तिहाई संख्या भएपनि दुई ध्रुबका बाँडिएर एकले अर्कोलाई सिध्याउन खोज्ने अवस्था आउनु दुःखदायी भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी धौलागिरीका कम्युनिष्ट योद्धा तेजराज सुवेदीले आफ्ना भाइ समेत रहेका पुष्पकमल सुवेदीले यस क्षेत्रमा कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै स्मरण गरे । स्वतन्त्र वामपन्थी मानवअधिकारवादी नेता टेकनाथ बरालले वामपन्थी आन्दोलनमा पुष्पकमल सुवेदीसँगै सहयात्री रहेको जनाउँदै कम्युनिष्ट नेताहरुले देश र जनताबारे सोच्न आग्रह गरे । नेकपा एकीकृत कास्कीका सचिव भिमबहादुर श्रीषमगरले कम्युनिष्टका नाममा माक्र्सका सिद्धान्तको गलत प्रयोग गरेको भन्दै दुःख प्रकट गरे । एकीकृत नेकपा माओवादी कास्की सदस्य निर्मला क्रान्तिले कम्युनिष्ट हुनै नसकिरहेको उल्लेख गर्दै कम्युनिष्टको खोल ओढेर कम्युनिष्टकै उपहास गरिरहेको बताईन् । नेकपा माओवादी कास्की जिल्ला सचिवालय सदस्य परशुराम कोईराला, कृष्ण केसी लगायतले बोलेका थिए ।
प्रतिष्ठानका अध्यक्ष दिवाकर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पूर्ण गिरीले स्वागत गरेका थिए भने सञ्चालन सचिव ठाकुर सुवेदी र सदस्य तथा कार्यक्रम संयोजक नारायण परिश्रमीले गरेका थिए ।
