कृषि तथा पशुपंक्षी बीमा गर्न सिद्धार्थको सक्रियता

Share:

रञ्जन अधिकारी पोखरा, ८ चैत / कृषि प्रधान मुलुक नेपालमा राज्यस्तरबाट नै कृषि र पशुपंक्षी बीमाका लागि पहल तीब्र पारिएको छ । किसानहरुलाई आफ्नो बाली र पशुपालन व्यवसायको बीमा गर्नुपर्छ भन्नेबारे नै जानकारी नहुँदा राज्यको योजना प्रभावकारी बन्न नसकिरहेका बेला विभिन्न निर्जिबन बीमा कम्पनीलाई जिम्मेवारी दिएर कृषकसम्म यस कार्यक्रम पु¥याउने जमर्को गरेको छ ।

सरकारले आर्थिक वर्ष ६९÷७० मा शासकीय सुधार कार्यक्रम अन्तर्गत कृषि र पशुपंक्षी बीमाका लागि दुई करोड छुट्याएर ५० प्रतिशत छुटको अवधारणा अघि सारेको थियो । त्यसपछि आ.व. ७०÷७१ मा १२ करोड ५० लाख छुट्याएकोमा ३ करोड मात्रै खर्च भयो । कृषकलाई बीमाका लागि प्रदान गरेको ५० प्रतिशत छुटबाट कृषक आकर्षित नभएको र गाउँगाउँका कृषकसमक्ष यस विषयमा जानकारी अभाव भएको महसुस गर्दै सरकारले यस वर्ष ७५ प्रतिशत छुट दिने निर्णय गर्दै छ करोड रुपैंया छुट्याएको छ ।

विभिन्न १७ निर्जिवन बीमा कम्पनीलाई ७३ जिल्ला हेर्ने गरी बीमा समितिको मातहतमा खटाईएको छ । दुई वर्ष अघिदेखि नै बीमा कम्पनीसँग सहकार्य गर्नेे योजना रहेपनि बीमा कम्पनीहरु फाईदा नहुने भन्दै हिच्किचाहिरहेको अवस्था थियो । कृषि बिकास मन्त्रालयले बिमा समितिले नियमन गर्ने गरी बिमा कम्पनीहरुलाई जिम्मेवारी दिएपछि आफ्नो क्षेत्रमा यी १७ बीमा कम्पनीहरुले कृषकसँग अन्र्तक्रियात्मक कार्यक्रमलाई तीब्रता दिएको जनाएका छन् ।

कास्की सहित पर्वत, पाल्पा, मनाङ र रुपन्देही जिल्लाको जिम्मेवारी पाएको सिद्धार्थ ईन्स्यारेन्स लिमिटेडले कृषकहरुलाई कृषि तथा पशुपंक्षी बीमाका बारेमा सचेतना जगाउन विभिन्न अन्र्तक्रियात्मक कार्यक्रम गरिरहेको छ ।

siddharthainsurance

यसै सन्दर्भमा पोखराको छोरेपाटनमा आईतबार बराल फिड ईण्डष्ट्रिजसँगको संयुक्त आयोजनामा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरियो । कार्यक्रममा कृषकहरु, कृषि व्यवसायीहरु, पोल्ट्री तथा पशु व्यवसायीहरु, कृषि प्राविधिक, पशुसेवा प्राविधिक गरी ४० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहजीकरण गर्दै सिद्धार्थ ईन्स्यारेन्स लिमिटेड, कृषि तथा पशुपंक्षी बीमा विभाग प्रमुख वीरेन्द्रबहादुर हमालले बीमा के हो ? किन गर्ने ? बीमा कसरी गर्ने ? सरकारले प्रदान गरेको ७५ प्रतिशत छुट सम्बन्धमा स्पष्ट पारेका थिए । कुखुरा, बाख्रा, बंगुर, गाई, भैंसी लगायतका पशु व्यवसाय, माछा, फलफूल, तरकारी सहितका सबै बालीहरुको बीमा हुने उनले बताए ।

‘पहिले किसानले निवेदन दिनुपर्छ । कृषिबाली तर्फ हो भने कृषि प्राविधिक र पशुपंक्षी व्यवसाय हो भने पशु प्राविधिकले सिफारिस गर्छ र बिमा कम्पनीले निवेदनका आधारमा बिमाङ्कन÷मूल्यांकन गर्छ ।’ उनले भने– ‘मूल्यांकन अनुसार ५ प्रतिशत प्रिमियम लाग्छ र यसमा पनि ७५ प्रतिशत सरकारले छुट दिन्छ भने व्यवसायीले २५ प्रतिशत मात्रै बीमा वापत तिर्नुपर्ने हुन्छ ।’ उनले बीमा स्वीकृत हुने बाली नेपाल सरकारले सिफारिस गरेको मात्रै हुनुपर्ने र पशु पंक्षीको हकमा पनि सोहि लागू हुने स्पष्ट पारे ।

कुनै व्यवसायीले पशु व्यवसाय गरेको खण्डमा जिल्ला पशु विकास कार्यालयमा जानकारी पछि प्राविधिक झिकाई उसले निरीक्षण गरी सिफारिस गर्नेछ । ब्रोईलर प्रतिकुखुरा अधिकतम ४ सय, लेयर्स अधिकतम ७ सय, बाख्रा र बंगुर अधिकतम १० हजार, भैंसीको १ लाख २५ हजार र गाईको १ लाख ५० हजार मूल्य निर्धारण गरिएको छ । यसैभित्र बीमा कम्पनीले मूल्य निर्धारण गरी बीमा गर्ने उनले बताए ।

ईण्डस्ट्रिजका सञ्चालक चन्द्रकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीको जिज्ञासालाई सिद्धार्थ ईन्स्योरेन्स लिमिटेड पोखरा शाखा कार्यालय प्रमुख गोविन्दप्रसाद देबकोटाले प्रष्ट पारेका थिए । कार्यक्रममा कृषि प्राविधिक लिला पंगेनी लगायतको सहभागिता थियो ।

यसैबीच, आईतबार दिउँसो जिल्ला कृषि विकास कार्यालयमा तरकारी खेती गर्ने कृषकहरुलाई पनि बीमा सम्बन्धमा जानकारी गराईएको छ । सरकारको युवा लक्षित कार्यक्रम अन्तर्गत तरकारी खेतीका लागि नौ सय निवेदन परेकोमा यसमध्ये ६० जना छनौट भएको र उनीहरुले अनिवार्य बीमा गर्नुपर्ने भएकाले बीमा सम्बन्धमा सचेतना प्रदान गरिएको कृषि विकास अधिकृत रमेश कोईरालाले जनाए । यी ६० युवाले तरकारी खेतीका लागि ४० हजारसम्म सहुलियत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: