
पोखरा, १२ चैत । पोखराको न्यूरोडमा आज बिहान आगलागी हुँदा करोड भन्दा बढी क्षति हुनुको साथै चार जना घाईते भएका छन् । आगलागीबाट पोखरा – ८ न्यूरोड , पोखरा उप–महानगरपालिका कार्यालय नजिकै सञ्चालित दुई पसल जलेर नष्ट हुनुको साथै सञ्चालक सहित चार जना घाइते भएका हुन् ।
डि आई पी सप्लायर्समा बिहान ७ बजे अचानक आगलागी हुदा संगै जोडिएको पेन्ट्स पसल पनि पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगालगीमा परी पसल सञ्चालक गोबिन्द अधिकारी, उननी श्रीमति साबित्री, माथिल्लो तलामा रहेको जापनिज ल्याङ्गवेइज सेन्टरमा पढ्न आएकी बिद्यार्थी प्रमिला गुरुङ र आडमा रहेको नेष्ट फर्निचरकी सिता कोईराला घाईते भएका छन् । उनिहरुको पद्य नर्सिङ होम न्यूरोडमा उपचार भैरहेको छ । सञ्चालक अधिकारीकी ४ बर्षिय छोरी अनुष्कालाई भने शकुसल उद्धार गरिएको छ ।
आगलागीबाट आफ्नो मात्रै ४० लाखको क्षति भएको सञ्चालक अधिकारीले बताए । उनि संगै शंकर राउतले सञ्चालन गरेको प्रतिउषा कलर हाउस जलेर नष्ट भएको छ। आगलागीबाट पसलको माथिल्लो तल्लामा पनि क्षति पुगेको छ । आगलागीबाट बाहिर पार्किङ गरी राखिएको तीन र भित्र रहेको एउटा गरी चार मोटरसाईकल जलेर नष्ट भएका छन् ।दुई पसल, चार मोटरसाईकल र अन्य गरी साढे एक करोड बराबरको क्षति अनुमान गरिएको प्रहरी उपरिक्षक हरि बहादुर पालले बताए ।
आगलागी झण्डै एक घण्टाको प्रयासमा नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणको लागि पोखरा उपमहानगरपालिकाको अत्याधुनिक दुई दमलक, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानिय जुटेका थिए ।
हाल दुवईमा रहेका स्थानिय याम प्रसाद गुरुङको घरमा दुई बर्ष अघिदेखि पसल सञ्चालन गरेका अधिकारीले एक बर्ष अघि पुरै घर जिम्मा लिएर बिभिन्न प्रयोजनको लागि भाडामा लगाएका थिए । ‘ सधै जस्तै बिहान उठेर पसल खोले, सटर तानिसकेको थिए’ अधिकारीले पिसपोखराडटकमसंग भने ‘ एक्कासि एउटा म्याट्रेसमा आगो सल्किसकेको रहेछ, कसरी आगो लाग्यो थाहा भएन । ’
आगो देखेपछि जल्दै गरेको म्याट्रेस निकालेर फाल्न खोज्दा फैलिएको उनले बताए । उनिहरुको परिवार माथिल्लो तल्लामा बस्दै आएका थिए । छोरी चिच्याउन थालेपछि बचाउन जाने क्रममा आफुलाई पनि आगोको राप्कोले भोटेको उनले बताए । आगलागी भएपछि अधिकारीकी श्रीमति साबित्री र संगै जोडिएको फर्निचर पसलकी कोईराला अचेत भई ढलेका थिए ।
बिद्युत सट भएर आगो लागेको प्रहरीले अनुमान गरेको छ । आगलागि भएपछि तत्काल नियन्त्रणको लागि बोलाएको दमकल ढिलो आएकाले क्षति बढी भएको स्थानियले बताएका छन् ।


