
रञ्जन अधिकारी पोखरा, १३ चैत / पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक बैकुण्ठप्रसाद अर्यालले सामुदायिक विद्यालय पनि पर्याप्त पूर्वाधार, ईच्छाशक्ति र शिक्षक, अभिभावक, विद्यार्थीको लगाव भएमा निजी विद्यालयभन्दा राम्रो शिक्षा प्रदान गर्न सक्ने बताएका छन् ।
पोखरा १२ रामघाट स्थित अमरसिंह नमुना उच्च माध्यमिक विद्यालयको शुक्रबार ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा बोल्दै प्रमुख अतिथि अर्यालले भौतिक संरचना र शैक्षिक गतिविधिमा उत्कृष्ट यस विद्यालय नेपालकै उदाहरण भएको बताए । ‘दृष्टिविहीन भएका विद्यार्थीदेखि लिएर नेपाली र अंग्रेजी माध्यममा पढाई हुने यस विद्यालय साँच्चै उदाहरणयोग्य छ’ – उनले भने– ‘२५ सय बढि विद्यार्थीहरु अध्ययन हुने यस विद्यालयले शैक्षिक गुणस्तरकै कारण राम्रो नतिजा ल्याईरहेको छ ।’
शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डित मौसमका कारण प्लेन आउन नसकेपछि उनी पोखरा आउन असमर्थ रहे । शिक्षा सचिव पण्डितको सन्देश सुनाउँदै उनले भने– शिक्षा सचिवज्यूले आफ्नो पूर्व विद्यालय, जसकै कारण आफू यो स्थानमा पुगेपनि प्रमुख अतिथिका रुपमा आउन असमर्थ रहेकोमा दुःख लागेको सन्देश पठाउनुभएको छ । नेपालको शैक्षिक धरोहरका रुपमा रहेको विद्यालयको उत्तरोत्तर प्रगतिको कामना समेत उनले गरेका थिए ।
विशेष अतिथि कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले भौतिक पूर्वाधार सम्पन्न विद्यालयले अब २०७ रोपनी जग्गा नै उपयोग गर्न सुझाव दिँदै राजनीतिक दल, अभिभावकहरुको सकारात्मक भूमिका रहनुपर्नेमा जोड दिए । उनले विद्यार्थीको अभावमा सामुदायिक विद्यालय मर्ज भईरहेको अवस्थामा अमरसिंह उच्च मावि नमुना विद्यालय बनेको बताए । ‘यो विद्यालय सामुदायिक विद्यालयमध्ये सर्वोत्कृष्ट छ । निजी विद्यालय भन्दा राम्रो शैक्षिक गुणस्तर प्रदान गरेको छ’ – उनले थपे – ‘अंग्रेजी र नेपाली माध्यममा पढाई हुनु पनि राम्रो पक्ष हो ।’
कार्यक्रमको अध्यक्षता समेत गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी बीच गाढा सम्बन्ध, एकता भएमात्र विद्यालयले प्रगति गर्ने भन्दै अमरसिंह उच्च माविबाट अरुले पनि सिक्नुपर्ने बताए ।
विद्यालयका प्रधानाध्यापक नवराज पौडेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. कृष्ण केसी, शिक्षक अभिभावक संघका अध्यक्ष बद्रिबिनोद प्रतिक, निर्माण उपसमिति अध्यक्ष मे. तुलसीप्रसाद गुरुङ, जग्गादाता घिमिरे परिवारका तर्फबाट गोविन्द घिमिरे, घोताने परिवारका लोकबहाुर गुरुङ, भूपू विद्यार्थी एशोसियसनका अध्यक्ष कृष्णबहादुर गुरुङ लगायतले बोलेका थिए ।
सो अवसरमा उच्च मावि तहमा उत्कृष्ट हुने छात्रछात्राहरु व्यवस्थापन तर्फ कल्पना पौडेल, शिक्षा संकायतर्फ बसन्त परियार, मानविकी तर्फ निरिशा गुरुङ तथा कक्षा ११ नतिजामा उत्कृष्ट हुने व्यवस्थापनतर्फ आस्था दाहाल, शिक्षातर्फ कुन्ती घले र मानविकीतर्फ कुशल घिमिरेलाई सम्मान पनि गरिएको थियो ।
विद्यालय व्यवस्थापन समिति सदस्य शिवबहादुर बरालले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक यामबहादुर थापा मगर, बद्री पंगेनी, सम्झना कट्टेल, राजन बराल, लेकबहादुर गुरुङले गरेका थिए । विद्यार्थीहरुले गीत, नृत्य लगायतका विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए भने विद्यालयमा स्थापित छात्रवृत्ति वितरण पनि गरिएको थियो ।
वि.सं. २०१३ सालमा स्थापित सो विद्यालयमा यस शैक्षिक सत्रदेखि नै ईञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने भनिएपनि जग्गा मुद्धा समस्याका कारण पूरा हुन नसकेको विद्यालयले जनाएको छ । ईञ्जिनियरिङ विषय पढाईको लागि सरकारबाट एलओआई प्राप्त भईसकेको र सम्बन्धन प्राप्त गर्ने प्रक्रिया चलिरहेको बताईएको छ ।
