
१४ चैत्र, म्याग्दी-अन्नपूर्ण बेसक्यामको नर्थ बेष्ट क्याम्पमा एक विदेशीसहित दुई जनाको बेपत्ता भएका छन्। म्याग्दीको नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण आरोहण गरेर फर्कने क्रममा फिनल्याण्डका २६ मिक्स्यामुल र संखुवासभा जिल्ला मकालु गाविसका पेम्बा शेर्पा चिप्लिएर बेपत्ता भएका हुन्।
गत फागुन १९ गते काठमाण्डौंबाट बेनी– भुरुङ तातोपानी हुँदै अन्नपूर्ण बेसक्यामतर्फ प्रस्थान गरेका ९ विदेशी र छजना नेपाली मध्ये दुई जना बेपत्ता भएको पर्यटन विभागका सम्पर्क अधिकृत राजेश महर्जनलाई उद्धित गर्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक हिराबहादुर गिरीले बताए। ‘म्याग्दीबाटै गएको भन्ने खबर आएको छ। हेलिकप्टरबाट खोजीकार्य भइरहेको छ,’ उनले भने।
करिब ७ हजार मिटर उचाईमा रहेकाले खोजीकार्यमा कठिनाई भएको आरोहणका गएका नेपालीले बताएका छन्। आरोहणमा गएका टोलीसमेत बेसक्याम आइपुगेका छैनन्। फर्कने क्रममा चिप्लिएका दुईजनाको खोजीकार्यमा आरोहण टोली रहेकाले थप विवरण आउन नसकेको प्रहरीले जनाएको छ। अन्नपूर्ण हिमाल म्याग्दी र कास्कीको सिमानमा पर्छ।
