गरिबी, भोकमरी र अभाव अन्त्यका लागि एकीकृत प्रयास अपरिहार्य : राष्ट्रपति डा. यादव

359
0
Share:

काठमाडौं, चैत १४ / राष्ट्रपति डा. रामवरण यादवले विश्वका धेरै मुलुकमा अझै पनि विद्यमान गरिबी, भोकमरी र अभाव अन्त्यका लागि एकीकृत प्रयास अपरिहार्य भएको बताउनुभएको छ । गत बिहीबारदेखि चीनको दक्षिणी प्रान्त हेनानस्थित बोआओ नगरमा सुरु भएको एसियाका लागि बाआओ मञ्चको वार्षिक सम्मेलनलाई आज बिहान सम्बोधन गर्दै उहाँले गरिबी, भोकमरी र विभेद निमिट्यान्न पारेर एसियाको भविष्य स्थिर, सुरक्षित एवम् समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

ram baran yaadavसामूहिक आर्थिक सुरक्षाको अभावमा शान्ति र स्थायित्व हासिल नहुने बताउँदै उहाँले आर्थिक वृद्धि र विकासका ढोका खोल्न मजबुत एवम् सहयोगात्मक संरचनाको आवश्यकतामा विशेष जोड दिनुभयो ।

सन् २००१ मा एसियाका लागि बोआओ मञ्च स्थापना भएदेखि नै उक्त मञ्च एसिया र यो महादेश बाहिरका देशले सामना गर्नुपरेका समसामयिक विषयमा छलफल तथा पारस्परिक अनुभव आदानप्रदानमा ज्यादै महत्वपूर्ण छ भन्दै राष्ट्रपति डा यादवले सम्मेलनको मुख्य विषयवस्तु ‘एसियाको नयाँ भविष्य ः साझा भाग्ययुक्त समुदायतर्फ’ राखिनु उपयुक्त एवम् समयानुकूल भएको बताउनुभयो ।

सन् २००८ मा राजतन्त्रको अन्त्यसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र बनेको नेपाल राजनीतिक रुपान्तरणको ऐतिहासिक चरणबाट गुज्रिरहेको र प्रजातान्त्रिक रुपमा निर्वाचित संविधानसभाबाट नयाँ संविधान जारी गर्नु आफ्नो मुलुकका लागि अहिलेकोे सर्वाधिक महत्वपूर्ण काम भएको राष्ट्रपतिले बताउनुभयो ।

संविधान बनाउन नेपाली जनता सक्षम

संविधान निर्माणका काममा केही कठिनाइको सामना गर्नु परे पनि सौहाद्रपूर्ण ढङ्ले समाधान गर्न नेपाली जनता सक्षम रहेको बताउँदै उहाँले नेपाली जनताको संविधान प्राप्तिका प्रयासमा अन्तर्राष्ट्रिय समुदाय एवम् शुभचिन्तकबाट बृहत् समझदारी, ऐक्यबद्धता र सहयोग आवश्यक छ भन्नुभयो । उहाँले प्राकृतिक तथा मानव संसाधनको प्रचुर उपलब्धता भए पनि नेपाली जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन हुन नसकेको पनि उल्लेख गर्नुभयो ।

नेपालको आर्थिक पूर्वाधार तथा अर्थतन्त्रका उत्पादनमूलक क्षेत्रका साथै संस्था र सर्वसाधारणमा बृहत् लगानीको आवश्यकता रहेको जानकारी दिँदै राष्ट्रपति डा यादवले विशेषगरी निरन्तर बढिरहेको युवा वर्गमा त्यस्तो लगानी गर्न जरुरी भएको बताउनुभयो ।

नेपालले लगानीका लागि नीतिगत रुपमा उदार एवम् आकर्षक व्यवस्था अवलम्बन गरेको स्पष्ट गर्दै उहाँले उद्योगी–व्यापारिक समुदायलाई नेपालमा उपलब्ध अवसरको सदुपयोग गर्न आह्वान गर्नुभयो । राष्ट्रपतिले पूर्वाधार, जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधिका क्षेत्रमा गरिने लगानीले प्रतिफल प्रदान गर्ने बताउँदै तिनमा पुँजी प्रवाह गर्न अनुरोध गर्नुभयो ।

मञ्चको वार्षिक सम्मेलनमा सहभागी हुने अवसर आफूलाई उपलब्ध गराएकामा आयोजकप्रति आभार प्रकट गर्दै उहाँले एसियाको उपयुक्त भविष्यको प्रतिनिधित्व गर्ने साझा भाग्यउन्मुख समुदाय निर्माणमा नेपालले अधिकतम सहयोग एवम् सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
Share: