
रञ्जन अधिकारी पोखरा १८ चैत / नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले एकिकृत नेकपा माओवादी नीति र विचार विहिन पार्टी बनेको बताएका छन् । उनले एमाओबादी दिशाहिन पार्टी भएको बताउदै उसले गर्ने आन्दोलनको लक्ष्य र उद्देश्य नभएको दावी पनि गरे ।
नेकपा एमाले अञ्चल कमिटी गण्डकीको पदभार ग्रहण कार्यक्रममा बुधबार बोल्दै गुरुङले एमाओबादी समुन्द्रमा कम्पास हराएको जहाज जस्तै भएको बताए । एमाओबादी कम्पास हराएको समुन्द्रको जहाज र अध्यक्ष प्रचण्ड कम्पास हराएको जहाजको पाइलट भएको उनको भनाई छ । गुरुङले नेकपा–माओबादीका अध्यक्ष मोहन बैद्य ओखती नभएको बैद्य र विप्लव लिएको दिशा आत्मघाती भएको टिप्पणी गरे ।
उनले आगामी चार वर्षभित्र एमालेलाई सवै कम्युष्टि पार्टीहरुको केन्द्रको रुपमा स्थापित गर्ने दावी गर्ने बताए । उनले राजतन्त्रको वकालत गर्ने काँग्रेसको नीति असफल भइसकेको र एमाओबादीको कुरा हावादारी भएको आरोप लगाउदै काँग्रेस नीतिमा र एमाओबादीको युद्धले असफल भएको जिकिर गरे । उनले नेतृत्व बिकास र विचारले एमालेले जितेको भएपनि पार्टीभित्र देखिएका समस्याका कारण पहिलो हुन नसकेको बताए ।
‘सिद्धान्त, संगठन र विचारका हिसावले एमाले राम्रो छ तर पहिलो पार्टी बन्न सक्दैन् ।’ उनले भने ,‘अव त्यसको बारेमा खोजी गर्नुपर्ने बेला आएको छ ।’ सचिव गुरुङले सिद्धान्तलाई ब्यवहारमा रुपान्तरण गर्न नसक्दा समस्या देखिएको बताउदै सुन्दर र समृद्ध नेपाल निर्माणका लागी एमालेको बहुमत आवश्यक रहेको बताए ।नेता गुरुङले जनसंगठनहरु अराजक र वेवारिसे बनेको बताउदै गुटउपुगटहरुको अन्त्य गदै संगठनको निरन्तरतालाई मध्यननजर गदै जिम्मेवारी दिनुपर्ने बताए ।
‘कम्यूनिष्टका संस्थापकको नाम जपेर वा कसैलाई कारवाही गर्दैमा् गुटवन्दी अन्त्य हुँदैन, उनले भने,‘बैचारिक एकता, नीति, कार्यक्रमको बुझाइमा एकरुपमा हुनु पर्दछ ।’ नेपालका कम्यूनिष्ट पार्टी स्थापनाको एक सय वर्षसम्ममा नेपाललाई मध्यम विकसित देश बनाउनका लागि योजना बनाएर काम गर्नुपर्ने बताए । उनले ६५ वर्ष अधिकारको लागि संघर्ष गर्नुपरेकोले अव ३५ वर्ष आर्थिक र सामाजिक विकासको लागि योजना बनाएर काम गर्नुपर्ने बताए ।
गण्डकी अञ्चलका इन्चार्ज एवं एमाले पोलिटब्यूरोका बैकल्पिक सदस्य जगत विश्वकर्माले पार्टीको कार्यदिशा र निर्देशनलाई कायान्वयन गदै पहिलो पार्टी बनाउने अभियानमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे । उनले गण्डकी अञ्चलमा एमालेलाई शसक्त र जुझारु बनाउन सवैको सहयोग र साथ लिएर अगाडि बढने बताऐ। सहइन्चार्ज मायानाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं निर्वतमान सहसंयोजक टुका हमाल, केन्द्रीय सदस्य पदमा आर्याल लगायतले एमालेलाई बलियो बनाउदै पहिलो पार्टीका रुपमा स्थापित गर्ने बताएका थिए ।

