संगीतकर्मी सुन्दर थापाको जन्मजयन्तीमा अक्षयकोष स्थापना

Share:

रञ्जन अधिकारी पोखरा, २३ चैत / संगीतकर्मी सुन्दर थापाको ४२ औं जन्मजयन्तीको अवसरमा सुन्दर थापा स्मृति अक्षय कोष घोषणा गरिएको छ । थापा परिवारले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी सात लाख रुपैंयाको अक्षयकोष स्थापना गरेको जानकारी दिएको हो । परिवारले सुन्दर स्मृति प्रतिष्ठान स्थापना गर्नका लागि तत्काल पहल सुरु गर्ने पनि जनाएको छ ।

कलाकार तीर्थ तामाङको संयोजकत्वमा संकलित पाँच लाख र एनआरएन अध्यक्ष शेष घलेले उपलब्ध गराएको दुई लाख गरी कूल सात लाख रुपैंयाको अक्षयकोष स्थापना गरिएको स्व. थापाकी धर्मपत्नी अमृता थापा (कञ्चन) ले जानकारी दिईन् । कोषको ब्याजबाट आउने रकमबाट विविध प्रकारका सामाजिक तथा कल्याणकारी कार्यक्रम सञ्चालन गरी सामाजिक सेवालाई अगाडि बढाउने उद्देश्य राखिएको छ ।

स्रष्टा, कलाकार, समाजसेवीलाई सम्मान गर्ने, एकल महिलाका लागि सीप विकास तथा उद्यमशीलताका एवं जीवनोपार्जनका लागि टेवा पु¥याउने, एकल महिलाका जेहेन्दार सन्ताको शिक्षा आर्जनका लागि छात्रवृत्ति प्रदान गर्ने योजना रहेको उनले जानकारी दिईन् । ‘एनआरएन चाईनाका अध्यक्ष समेत रहनुभएकाले उहाँको शेषपछि श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएकोमा केहि रकम बचत भएको थियो’ – थापाले भनिन्– ‘छोरीहरुका लागि जम्मा गर्ने सुझाव आएपनि एनआएरन अध्यक्ष घलेको सहयोगमा केहि रकम थप गरी कोष स्थापना गर्ने निधो गरेका हौं ।’

कार्यक्रममा मोहन थापाले स्व. सुन्दर थापाको योगदानहरुको पहिचान दिई मौलिक सृजनाहरुको जगेर्ना, संरक्षण, सम्वद्र्धन, एवं प्रवद्र्धन गर्नका लागि आवश्यक कार्यहरु स्मृति गन्थ प्रकाशन, वृत्तचित्र निर्माण, शालिक स्थापना, सुन्दर स्मृति दिवस मनाउने, संगीतालय सञ्चालन तथा संगीत प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको पनि जनाए । प्रतिष्ठान गठन गरी आजीवन सदस्यहरु थप्दै विश्वभर रहेका संगीत पारखीमाझ विस्तार गर्ने योजना रहेको क्या. अनिरुद्र थापाले बताए । श्रष्टा थापाको हालसम्मका कृतिहरुको संरक्षण र सम्वद्र्धनका लागि सुन्दरस्मृति डटकम वेबसाईट सञ्चालन गर्ने भएको छ ।

४२ वर्ष अघि २०२९ चैत २३ गते जन्मिएका संगीतकर्मी थापाको गत वर्ष २०७० चैत १२ गते अल्पायुमै निधन भएको थियो । पेशाले ईञ्जिनियर रहेर पोखरा उपमहानगरपालिका कार्यालयमा समेत लामो समय काम गरेका थापा हङकङ हुँदै पछिल्लो समय चीनको ग्वाञ्झाओमा रहेर व्यवसाय गर्दै आएका थिए भने संगीतका साथै समाजसेवामा पनि उत्तिकै सक्रिय थिए । उनले साधना, नमुना, आशय र सृकृति गरी चार एल्बममा संगीत भर्नुका साथै दुई चलचित्रहरु विश्वासघात र कैदीमा पनि संगीत दिन भ्याए ।

व्यर्थै फेरि पुरानो डुंगा, म आफैं धमिलो, ए दिलमाया, कुन गाउँमा जन्म्यौ हे कान्छप्, पोहोर सालको बाढीले जस्ता चर्चित गीतहरुमा उनले संगीत दिएका थिए । विदेशमा व्यापार व्यवसाय गरेर पैसा कमाएपछि नेपालकै लागि केहि गर्ने योजनाका साथ अघि बढेका थापाको अमरसिंह ईञ्जिनियर क्याम्पस सञ्चालन गर्ने, पोखराको ताल संरक्षणका लागि योगदान दिने जस्ता सपनाहरु पुरा हुन सकेनन् । उनको सपनालाई साकार आफूले सक्दो प्रयत्न गर्ने पत्नी कञ्चनले प्रतिबद्धता व्यक्त गरेकि छिन् । थापाका दुई छोरीहरु साधना र प्रार्थना पनि कार्यक्रममा उपस्थित थिए ।

कमेन्ट गर्नुहोस्
Share: