
काठमाडौं, चैत्र २३ / भारतमा एअर इन्डियाको एअरबस ‘ए ३२०’ विमानका पाइलट ककपिटमै को–पाइलटबाट कुटिएका छन् । आइतबार साँझ जयपुरबाट दिल्लीका लागि उडान भर्ने तयारी गरिरहेको विमानको ककपिटमा पाइलट कुटिएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
विमानका पाइलटले उडान सुरु हुन लाग्दा विमानमा यात्रुको संख्या, इन्धनको अवस्थालगायत उडानसम्बन्धी महत्वपूर्ण सूचना लिन को–पाइलटलाई अह्राएका थिए । तर, पाइलटको आदेश नमानेर को–पाइलटले विवाद गर्न थाले र पछि उनले पाइलटलाई नै कुटेका थिए । एअर इन्डियाले भने ककपिटमा सामान्य विवाद मात्रै भएको दाबी गरेको छ ।
पिटाइ खाएका पाइलटले विमानस्थलमा कुनै खबर नगरी विमान उडाएका थिए । ती को–पाइलटले विगतमा अस्वभाविक हर्कत देखाउने गरेको जनाइएको छ । (एजेन्सी)
