‘नेपालको उज्ज्वल भविष्यमा पोखराको भुमिका’ विषयक अन्तरक्रिया

Share:

पोखरा, ३० चैत । राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेले पोखरा मुख्यतः पर्यटनकै केन्द्र भएपनि विमानस्थल निर्माणसँगै अन्तर्राष्ट्रिय शहर बन्ने भएकाले पर्यटन लगायत विकासका अन्य सम्भावनाहरुबारे काम अघि बढाउनुपर्ने बताएका छन् ।

पोखरा उद्योग वाणिज्य संघ तथा नेपाली युवा उद्यमी मञ्च पोखराले सोमबार संयुक्त रुपले आयोजना गरेको ‘नेपालको उज्ज्वल भविष्यमाः पोखराको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको विकासको टर्निङ प्वाईन्ट नै जलविद्युत भएकाले यसका साथसाथै पर्यटन उद्योगमा भएका सम्भावनाहरुको सही उपयोगमा ध्यान दिनुपर्ने बेला आएको उनले बताए ।

देशको अर्थतन्त्रमा पर्यटनले ठूलो हिस्सा ओगट्ने निश्चित रहँदा रहँदै दुई प्रतिशतमा मात्र खुम्चिएकोमा चिन्ता व्यक्त गर्दै उनले पर्यटनको योगदान बढाउन यो क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए । नेपालले पनि विश्वबजारमा जोडिने उत्पादन गर्नुपर्ने र अहिले विश्वमा ब्राण्डिङको ठूलो महत्व भएको चर्चा गर्दै उनले नेपालले पनि हरित उर्जा, स्वच्छ पर्यटन,प्राङ्गारिक कृषि, जिरो कार्वनजस्ता ब्राण्डहरु बसाउन र त्यसको प्रचार गर्न सक्ने सम्भावना व्यक्त गरे । ‘अब हामी दोहनकारीबाट संरक्षणकारी तथा समावेसीतर्फ जानैपर्छ ।’– उनले भने – ‘उर्जाको विकासका लागि हामीसँग भएको र कुनै हानी पनि नगर्ने जलविद्युत नै हो ।’ अब २ वर्षमा निजी क्षेत्रबाट ६ सय ३० र सरकारी तवरबाट ५६८ गरी करीब १२ सय मेघावाट विद्युत उत्पादन हुँदैछ’ – उनले भने – ‘जलविद्युतको विकासले नै उद्योगधन्दाको स्थापना र रोजगारीको अवसर सृजनाको आशा गर्नुपर्छ। ’

विकासका सबैजसो प्रक्रियाहरु राजनीतिक स्थिरता वा व्यवस्थासँग जोडिने तर्क गर्दै उनले अव्यवस्थाकै कारण कुनै समय विश्वका अन्य देशको जस्तै विकास दर भएको नेपाल अहिले पछाडि पर्दै गएको तर्क गरे । उनले नेपालमा लामो समय भएको आन्तरिक द्धन्द्धको वियोगान्तक पक्ष नै पूँजीको दुरुपयोग भएको ठोकुवा गरे । ‘आखिर जे भने पनि राजनीति र व्यवस्थासँग विकास जोडिएको हुन्छ’, उनले भने ’त्यसैले तपाईँहरुले खराब गर्नेहरुलाई गाली गर्नुप¥यो, फटाहालाई हराउनु प¥यो ।’

उनले नेपालको कुल ग्राहस्थ उत्पादनको करीब ३० प्रतिशत हिस्सा रेमिट्यान्स अर्थात विप्रेषणमा भर पर्नु अर्थतन्त्रको लागि डरलाग्दो भएको बताए । ‘हाम्रा युवाहरु रोजगारीको लागि जाने देशहरुमा खनिज र पेट्रोलियम पदार्थको भाउ नघटने हो भने नेपालमा अझ केही वर्ष रेमिट्यान्स आउँछ’, उनले भने‘ तर १०÷१५ वर्षभन्दा बढी रेमिट्यान्सले देश चल्दैन ।’ रेमिट्यान्सले धानिएको अर्थतन्त्रलाई बिस्तारै सही मार्गमा ल्याउनको लागि नेपालमा जलविद्युतको विकास नै कारक हुनसक्ने उनको ठम्याई थियो ।

नेपालले २०४८ सालपछि अंगिकार गरेको खुला अर्थतन्त्रको नीति नराम्रो नभए पनि नियमनकारी निकायहरुको अभावमा त्यसले सही काम गर्न नसकेको स्वीकार्दै उनले अब खुल्ला बजारलाई नियमन गर्ने कानूनहरुको तर्जुमामा सरकारले ध्यान दिएको जानकारी समेत दिए ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले देश विकासको लागि आवश्यक पर्ने सडक सञ्जाल बिस्तार, नीतिमा एकरुपता, औद्योगिक र लगानीमैत्री वातावरणको लागि आवश्यक पर्ने कानूनहरु समयमै ल्याउनुपर्नेमा जोड दिए । थापाले पोखरामा चक्रपथ निर्माण लगायका १४ वटा विकासका परियोजनाको अध्ययन भई रहेको जानकारी दिँदै ति परियोजनाहरुलाई योजना आयोगको दायरामा पार्न र बजेट विनियोजन गर्न आग्रह पनि गरे । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि आवश्यक पर्ने पूर्वाधार निर्माणको लागि समयमै तयारी गर्नुपर्नेमा उनको जोड थियो ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुले पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण हुनु पर्नेमा जोड दिए । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव तथा नेपाल युवा उद्यमी मञ्च पोखराका अध्यक्ष प्रकाशदेव पालिखेले दक्ष जनशक्ति उत्पादन र युवाहरुलाई स्वदेशमै राख्ने वातावरण निर्माण हुनुपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवंं कार्यक्रमका समन्वयकर्ता अमितराज मुल्मीले योजना आयोगका सदस्यको व्यक्तित्वको चर्चा गर्दै युवा व्यक्तित्वले पोखराको दीर्घकालीन विकासको लागि ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सीता गुरुङले महिलाहरुलाई उत्पादनमूलक तालीममा लगाउनु पर्नेमा जोड दिइन् ।

टान पश्चिमाञ्चलका अध्यक्ष रामचन्द्र शर्माले नया पदयात्रा मार्गको निर्माण तथा पर्यटन नीति स्पष्ट हुनुपर्ने माग गरे । कार्यक्रममा अधिकृत विक्रेता संघका अध्यक्ष सुरेश अधिकारी, डिबी भुजेल, वैंकर सुन्दर गुरुङ, दिनेश प्रसाईँ, पत्रकार बासुदेव मिश्र लगायतले नेपालको दीगो विकासको लागि योजनावद्ध रुपले अगाडि बढ्न, गाउँको जीवनस्तर माथि उकास्ने योजना ल्याउन तथा राजनीतिक क्षेत्रमा देखिएका विकृतिहरुको अत्यको लागि पहल गर्नुपर्ने माग गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: