१२ औं फेवा नव वर्ष महोत्सव सम्पन्न

Share:

पोखरा, २ वैशाख / पोखराको बसुन्धरा पार्कमा चैत २८ देखि संचालन भएको १२ औं फेवा नव वर्ष महोत्सव २०७२ बुधबार सम्पन्न भएको छ ।

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा संचालित महोत्सव विना कुनै औपचारिक कार्यक्रम सम्पन्न भएको हो । फेवा ताल र नेपाली संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले संचालित महोत्सवमा ठूलो संख्यामा दर्शकले सहभागिता जनाएको संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।

नयाँ वर्ष सुरु हुने अघिल्लो दिन र नयाँ वर्षको दिन दर्शकको ठूलो संख्या महोत्सव स्थलमा पुगेको उनले सुनाए । यसैगरी महोत्सव बाहिर समेत उत्तिकै संख्यामा दर्शकहरुको भीड लागेको संघले जनाएको छ ।

महोत्सव स्थल बसुन्धरा पार्क र लेकसाइडको सडक तथा वरपर समेत नेपाली नयाँ वर्ष मनाउन देशविदेशबाट पर्यटक आएका कारण कति दर्शक सहभागी भए र कति रकमको कारोबार भयो भन्ने एकिन तथ्यांक निकालिएको छैन ।

महोत्सवका अवसरमा पर्यटक दौड, डुंगा दौड, दोहोरी गीत, नृत्य र अन्य रमाइला कार्यक्रमहरु समावेश गरिएको थियो । चैत ३० र वैशाख १ गते लेकसाइडको सडकमा सडक महोत्सव समेत आयोजना गरिएको महोत्सव संयोजक लक्ष्मण सुबेदीले जानकारी दिए ।

फेवा महोत्सवलाई आगामी वर्षमा समेत निरन्तरता दिइने र सबैको सल्लाह र सुझाव लिई झनै परिस्कृत ढंगले संचालन गरिने संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले बताए ।

 

कमेन्ट गर्नुहोस्
Share: