
पोखरा, ७ बैशाख । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरा विश्वविद्यालयमा नियम विपरित विद्यार्थी ट्रान्सफर गरेको आरोप लगाएका छन् ।
पोखरा विश्वविद्यालय अन्तर्गत केन्द्रीय आंगिक कलेज स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेसमा बिपिएचबाट बिफाममा विद्यार्थीलाई ट्रान्सफर गर्ने क्रममा विश्वविद्यालयका कानुनी सल्लाहकार फडिन्द्र कोइरालाकी छोरी प्रतिज्ञा कोइरालालाई सार्वजनिक सुचना बिना र प्रवेश परिक्षाको मेरिट लिस्ट मिचेर ट्रान्सफर गरिएकोमा संगठनले त्यसको विरोध गरेको अनेरास्ववियु स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेस क्याम्पस कमिटिका सचिव प्रवेश ढकालले बताए । सोमबार दिउँसो अनेरास्ववियु समर्थित विद्यार्थीहरुले त्यसको विरोधमा पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालय अगाडी नाराबाजी सहित कोणसभा सम्पन्न गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु गण्डकी अञ्चल सह ईञ्चार्ज नरेश रोकायाले विधि अनुसार काम नगर्दा ९५ हजार शाही सेना सहितको राजा ज्ञानेन्द्रको शासन अनेरास्ववियुको आन्दोलनले अन्त्य भएको स्मरण गराउँदै विश्वविद्यालयले पनि विधि अनुसार मेरिट लिस्टका आधारमा विद्यार्थीको भर्ना प्रक्रिया सञ्चालन नगरे विश्वविद्यालयका पदाधिकारीहरुको शासनको पनि अन्त्य हुने चेतावनी दिए ।
सोमबार नै आक्रोशित विद्यार्थीहरुको समूहले विश्वविद्यालयमा तोडफोड समेत गरेका छन् । विश्वविद्यालयमा तोडफोडबाट केही सिसाहरुमा क्षति समेत भएको छ । आन्दोलनरत विद्यार्थीहरुको समूहले विश्वविद्यालयका पदाधिकारीहरुको गाडी सुविधा समेत खोसेको अनेरास्ववियु पोखरा विश्वविद्यालय कास्की संयोजक नेशन शर्माले बताए ।
उनका अनुसार नियम विपरित भएको ट्रान्सफरको विरोधमा संकायका डिनको कार्यकक्षमा विगत १८ दिनदेखि तालाबन्दी गर्दा पनि सुनुवाई नभएपछि आन्दोलन विश्वविद्यालय केन्द्रीय कार्यालय तर्फ केन्द्रीत गरिएको हो ।
आन्दोलनरत विद्यार्थीहरुले सोमबार नै विश्वविद्यालयको केन्द्रीय परिक्षा नियन्त्रण कार्यालय अगाडी पनि नाराबाजि गर्दै दीक्षान्तको समय निजिकिँदै जाँदा समेत विद्यार्थीहरुले ट्रान्सक्रिप्ट नपाएकोमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शन पछि भएको वार्तामा पोखरा विश्वविद्यालयले आगामी वैशाख १५ गतेसम्मका ट्रान्सक्रिप्टको लागि आवेदन दिने विद्यार्थीहरुले यो वर्षको दीक्षान्तमा सहभागी हुन पाउने सहमति भएको छ । साथै मौका परिक्षामा सहभागी विद्यार्थीहरुलाई समेत विशेष व्यवस्था गरेर दीक्षान्तमा सहभागी गराउन विश्वविद्यालय सहमत भएको बताइएको छ ।
मंगलबार नै विश्वविद्यालय परीक्षा समितिको बैठक बसेर त्यसको सार्वजनिक सुचना प्रकाशित गर्न परिक्षा नियन्त्रक सहमत भएको अनेरास्ववियु पोखरा विश्वविद्यालयका कार्यवाहक अध्यक्ष सुवास मल्लले जानकारी दिए ।
