नौ वर्ष बित्यो, जनतालाई लोकतन्त्र आएको खोई ?

352
0
Share:

रञ्जन अधिकारी पोखरा, ११ वैशाख / वैशाख ११, लोकतन्त्र दिवस । दोस्रो जनआन्दोलन २०६२÷६३ सम्पन्न भएको दिन । शुक्रबार मुलुकभर विभिन्न कार्यक्रमका साथ ९ औं लोकतन्त्र दिवस मनाईयो । नेपाली जनताको १९ दिन लामो बलिदानीपूर्ण जनआन्दोलनबाट मुलुकमा लोकतन्त्र स्थापना भएको नौ वर्ष पुगेको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दियो तर औपचारिक कार्यक्रम भने भएन ।

राजतन्त्रको अन्त्य र जनताको शासनका लागि नेपाली जनताले सुरु गरेको जनआन्दोलन–२ ले यही दिनमा सफलता प्राप्त गरेको थियो । आन्दोलनकै बलमा वैशाख १० गते मध्यरातमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा पुनःस्थापना गरेका थिए । आन्दोलनका क्रममा २५ जनाले ज्यान गुमाएका थिए भने करिब २१ हजार नागरिक घाइते भएका थिए । त्यसपछि तत्कालीन विद्रोही शक्ति नेकपा माओवादी शान्ति प्रक्रियामा आयो भने संविधानसभा निर्वाचन मार्फत नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बन्यो ।

तर, पहिलो संविधानसभाले ६ वर्षसम्म आन्दोलनका उपलब्धीहरु संस्थागत गर्न सकेन भने फेरि मुलुकलाई व्ययभार थप्दै दोस्रो संविधानसभा बन्यो । शान्ति र संविधानको जगमा भएको जनआन्दोलन सफल भए पनि मुलुकमा आन्दोलनका उपलब्धीहरु संस्थागत भइसकेका छैनन् । मुख्यकाम संविधान निर्माण र शान्ति प्रक्रिया पुरा भइसकेको छैन । एक वर्षसम्म संविधान बनाउने भनेका नेताहरु डेढ वर्ष भईसक्दा पनि संविधान बनाउने छाँटकँटँ देखिएको छैन । जनक्रान्तिका नेतृत्वकर्ता दलहरुनै अहिले बिभाजित हुँदा देश फेरि अन्यौलमा छ । जनआन्दोलनका उपलब्धीहरु संस्थागत नभएकोमा आम जनता निराश छन् ।

नौ वर्षसम्म लोकतन्त्र संस्थागत हुन नसकेकोमा पोखराका मानवअधिकारकर्मीहरुले पनि निराशा प्रकट गरे । मानवअधिकार तथा शान्ति समाज, कास्कीले आयोजना गरेको लोकतान्त्रिक दिवसको सन्दर्भमा शुभकामना तथा क्यालेण्डर विमोचन कार्यक्रममा उनीहरुले संघर्षको परिणाम स्वरुप अहिलेको प्राप्त लोकतान्त्रिक शासन पद्धतिलाई चीरस्थायी बनाई जनताको भविष्य उज्जल बनाउन प्रेरणा मिलोस भनी दिवसका अवसरमा कामना पनि गरे ।

राष्ट्रिय मानवअधिकार आयोग पोखराका निर्देशक डा. टीकाराम पोखरेलले आम जनताले लोकतन्त्रको अनुभूति जबसम्म गर्न पाउँदैनन् तबसम्म यसको संस्थागत हुन नसक्ने बताए । ‘संविधान नै बनेपनि जनताले शान्ति, मानवअधिकार, विकास लगायत अनुभूति गर्न पाएनन् भने यसलाई संस्थागत भएको मान्न सकिन्न’ – उनले भने– ‘राजनीति राजनीति भन्दै दौडिरहँदा मानवअधिकारप्रति उदासिन भएमा संस्थागत हुनै सक्दैन ।’ उनले रुञ्चेहरु मानवअधिकारवादी बन्न नसक्ने ठोकुवा पनि गरे ।

मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय संयोजक सूर्यप्रसाद ढकालले लोकतन्त्र र मानवअधिकार परिपुरक भएको भन्दै राज्य मानवअधिकार क्षेत्रमा पनि उत्तिकै गम्भीर बन्नुपर्ने बताए । उनले राजनीतिक दलहरुलाई अरु छाडा बन्न नदिन खबरदारी अभियान जारी राख्नुपर्ने बताए ।

समाज कास्कीका संयोजक धिरज थापाको अध्यक्षतामा भएको कार्यक्रममा एम्नेस्टी ईन्टरनेशनल ८२ का संयोजक मुक्तिप्रसाद ढकाल, समाजका सल्लाहकार विश्वलाल श्रेष्ठ, एन प्याब्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, एम्नेस्टी ईन्टरनेशनल ५४ सचिव भानु पराजुली, महिला मानवअधिकार रक्षक सञ्जाल कास्की सहसचिव तारामाया थापा, मानवमिलन नारी जागरण नेपालकी सचिव पार्वती पौडेल, हुर्जा कास्कीका अध्यक्ष राजेश पराजुली, गजल सन्ध्या पोखराकी कोषाध्यक्ष सरीता पौडेल लगायतले बोलेका थिए । समाजका सचिव अमृत सुवर्णकारले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई रुद्रबहादुर नेपालीले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: