
रञ्जन अधिकारी पोखरा, २६ बैशाख /श्री स्वामिनारायण मन्दिर भुजकछ, गुजरात भारतबाट आएको ३७ लाख बराबरको राहत भुकम्प प्रभावित गाउँहरुमा वितरण गरिएको छ । श्री स्वामिनारायण मन्दिर पोखरा १७ ले वितरण व्यवस्थापन गरेको हो ।
दैवी प्रकोप उद्धार समिति कास्कीको समर्थनमा भुकम्प प्रभावित सिन्धुपाल्चोक, धादिङ, गोरखा, पर्वत, काठमाण्डौंका साथै कास्कीका विभिन्न स्थानमा पुगी स्वयमसेवक टिमले सामाग्रीहरु हस्तान्तरण गरेको हो । सबै गरी करीब नौ सय घर परिवारलाई प्रेसर कुकर, डेक्ची, थाल, कचौरा, गिलास लगायतका खाना पकाउने सेट, तीन दिनलाई पुग्ने चामल, दाल लगायतका खाद्य सामाग्रीका साथमा त्रिपाल, कम्वल गरी एक घर बराबर करीब चार हजार दुई सयका सामा प्रदान गरिएको मन्दिर, पोखराका संरक्षक स्वामी श्रीजी प्रसाद दासले बताए ।
शास्त्री स्वामी अक्षरप्रिय दासजी, शास्त्री भक्तिचरण दासजी, रामजी बाई पटेल, खिमजीबाई पटेल, संस्थाका संरक्षक स्वामी श्रीजी प्रसाद दासको टोलीले विभिन्न स्थानमा पुगी राहत सामाग्री हस्तान्तरण गरेको हो ।
धादिङको मुलपानी गाविसको सिउरेनी, ठुलोवेशी, लमिडाँडा, बुढाथुमको मनपाङ र सल्यान्टारको सिकटार क्षेत्रका करीब दुई सय घरपरिवारलाई राहत वितरण गरिएको थियो । टोलीको समन्वय पत्रकार रञ्जन अधिकारीले गरेका थिए । यस्तै, गोरखाको बगुवा र लाप्राक गाविस, पर्वतको हुवास, सिन्धुपाल्चोक, काठमाण्डौंका विभिन्न गाउँमा पनि पुगेको थियो भने पोखराकै पुर्नस्थापना केन्द्रका घाईते परिवारलाई पनि भाँडाकुँडा वितरण गरिएको थियो ।
कास्कीमा १५ गते आयोजना गरिएको स्वयमसेवक भेलामा भाडा व्यवस्थापनका संयोजकका रुपमा स्वामिनारयण मन्दीरका संस्थापक श्रीजि प्रसाद दास चयन भएपछि यस्तो राहत अभियान सुरु गरिएको थियो । स्वामिनारायण नारी जागरण समुह र श्री स्वामिनारायण बालमण्डलले उक्त राहत समाग्री वितरणका लागि व्यवस्थापनमा सहयोग गरेका थिए भने स्थान परिचालन व्यवस्थापन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले गरेकी थिईन् ।
