
काठमाडौं, वैशाख ३१ / अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ । आइसिसीले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह एमा परेको छ ।
नेपाल रहेको समूहमा आयरल्याण्ड, हङकङ, पपुवा न्युगिनी, नामिबिया, अमेरिका र जर्सी परेका छन् । सार्वजनिक तालिका अनुसार नेपाल तुलनात्मक रुपमा सहज समूहमा परेको छ । यस्तै समूह बी मा अफगानिस्तान, युएई, नेदरल्याण्ड, स्कटल्याण्ड, क्यानडा, केन्या र ओमन छन् ।
ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट खेल आउँदो जुलाइ ९ देखि २६ सम्म आइयरल्याण्ड र स्कटल्याण्डमा हुनेछ । १८ दिनसम्म चेल्ने प्रतियोगितामा ५१ खेल हुनेछ । प्रतियोगितामा सहभागी १४ टिम मध्ये शीर्ष ६ स्थानमा रहने टिम सन् २०१६ मा भारतमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा सहभागी हुन पाउनेछन् । यी टोलीले प्रतिगितामा आइसिसीमा १० पूर्ण सदस्य राष्ट्रसँग खेल्न प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले आफ्नो पहिलो खेलमा जुलाइ १० मा अमेरिकासँग खेल्नेछ । जुलाइ ११ मा नामिबिया, जुलाइ १३ मा आयरल्याण्ड, जुलाइ १५ मा हङकङ, १७ मा पपुवा न्युगिनी र जुलाइ १८ मा जर्सीसँग खेल्नेछ ।
