अमेरिकी सेनाको हेलिकोप्टर सिन्धुपाल्चोकको घोरथलीमा दुर्घटनाग्रस्त अवस्थामा भेटियाे

Share:

काठमाडाै‌,१ जेष्ठ । बैशाख २९ गतेदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर यूएच-१ वाई सिन्धुपाल्चोकको घोरथली गाविसमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। सैनिक जनसम्पर्क निर्दशनालयका अनुसार नेपाली सेनाको पैदल फौजको सूचनाका आधारमा दुर्घटनाग्रस्त अवस्थामा सो हेलिकप्टर फेला पारेको हो।

उक्त हेलिकप्टर खोजीका लागि नेपाली सेनाले बिहीबार दिउसो परिचालन गरेको पैदल फौजले हराइरहेको हेलिकोप्टर फेला पारेको हो। सो ठाउँमा दुर्घटना भएको जानकारी पाएपछि सेनाले दुई हेलिकप्टर त्यस क्षेत्रमा पठाएर खोजी कार्य गरिरहेको थियो।

ती हेलिकप्टरले कालिञ्चोक डाँडाको उत्तरपूर्वी दिशातर्फ करिब ११ हजार २०० फिट उचाइमा रहेको घोरथलीमा दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर फेला पारेको सेनाले जनाएको छ। सो हेलिकप्टरमा नेपाली सेनाका दुई र विदेशी छ जना सवार थिए। दुर्घटनाग्रस्त इलाकामा नेपाली सेनाको पैदल फौज र मौसम अनुकूल भएमा हवाई साधन पठाइने सैनिक जनसम्पर्क निर्दशनालयले जनाएको छ।

यसअघि गृहमन्त्रालयले उक्त हेलिकोप्टर ११ हजार २ सय फिट अग्लो कालिन्चोक डाँडा क्षेत्रमा देखिएको जनाएको थियो। गृहमन्त्रालयको कमाण्ड पोष्टमा बसेका एक उच्च अधिकारीले खोजीमा शुक्रबार बिहानबाट खटिएको सेनाको हेलिकोप्टरले हराएको हेलिकोप्टर देखेको पुष्टि गरेका थिए।

अर्थमन्त्री रामशरण महतले सो हेलिकोप्टर दुर्घटना भएको अाफ्नाे ट्वीटर एकाउण्टमार्फत सार्वजनिक गरेका छन्। उनले आफ्नो ट्वीटमा मानवीय सहयोगका लागि आएको साहसिक व्यक्तिहरु गुमाएको उल्लेख गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: