काम छ, कामदार छैनन्

Share:

काठमाडौं, जेष्ठ ७ – विनाशकारी भूकम्पयता निर्माण सामग्री लगायतमा प्रशस्त काम भए पनि कामदार छैनन्। भूकम्पको पराकम्पन नरोकिँदा अधिकांश कामदार बाहिरिएकाले काम भए पनि कामदारको अभाव छ।

workerश्रमिक नहुँदा सामान ढुवानीका लागि उपभोक्ताहरू घन्टौं कुनुपर्ने बाध्यता छ। ‘भूकम्पले घर ड्यामेज छ। घर मर्मतका लागि निर्माणका सामग्री खरिद गरें,’ मौतीदेवीस्थित न्यु शान्ति हार्डवेयरमा भेटिएका पुतलीसडक निवासी केन्द्र शाहीले भने, ‘एक घण्टादेखि श्रमिक (ढुवानी गर्ने कामदार) कुरिरहेको छु तर भेटेको छैन।’

व्यवसायीले पनि निर्माण सामग्रीको माग उच्च भए पनि ढुवानीमा समस्या भएको बताउँछन्। कामदार भेटे पनि बढी मूल्य तिर्नुपर्ने बाध्यता भएको सेवाग्राही बताउँछन्।

अहिले सामन्य दिनको तुलनामा निर्माण सामग्रीको माग धेरै बढेको छ। ‘अर्डर बढी छ,’ न्यु शान्ति हार्डवेयर सेन्टरका सञ्चालक रवि श्रेष्ठले भने, ‘तर श्रमिकको समस्या छ।’ श्रेष्ठको हार्डवेयरमा २५ प्रतिशतभन्दा बढीले कारोबार र माग बढेको बताए।

मैतीदेवीमै रहेको भक्ता हार्डवेयरका सञ्चालक सरोज श्रेष्ठको भनाइ पनि उस्तै छ। जस्तापाताको मागमा वृद्धि भए पनि ढुवानीमा समस्या छ। उनले जस्तापाता बन्डलको ३ हजार ४ सयदेखि ९ हजार ८० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्। वर्षाको मौसमलाई जस्तापाताको सिजन मानिन्छ। यस सिजनमा जस्तापाताको माग र खपत ह्वातै बढ्छ। एउटा घर टहरा बनाउँदा २/३ बन्डल बिक्री हुन्छ।

जस्तापातालगायत सामानको माग बढेकाले कामदार अभावको फाइदा उठाउँदै केही श्रमिकले बढी मूल्यसमेत लिने गरेको व्यवसायीहरू बताउँछन्। सामानहरूकोमाग क्रमिक रूपमा बढ्दै गएकाले केही सातापछि थप समस्या हुने उनीहरूको भनाइ छ।

टेकुस्थित हुलास स्टिल बिक्री शाखाका कृष्ण थापाले अन्य समयको तुलनामा कारोबार ३० प्रतिशतभन्दा बढीले बढेको बताए। ‘उत्पादन पनि एकदमै चाप छ। माग एकै पटक ह्वात्तै बढ्दा पूर्ति गर्न समस्या देखिएको छ,’ उनले भने, ‘ग्राहकलाई पनि वितरण गर्न सकेका छैनौं।’

टेकुमै रहेका एएस हार्डवेयरका सञ्चालक अन्नपाल श्रेष्ठले भने व्यापार घटेको बताउँछन्। ‘ठूलो कन्ट्रक्सन, ठेकेदारले निमार्णका सामग्री खरिद गर्ने हो। तर अहिले सबै बन्द छ,’ उनले भने। यस्तै हार्डवेयर पसल बर्सेनि बढेको, प्रतिस्प्र्राधाले पनि व्यापार ९० प्रतिशतले घटेको उनले बताए। व्यवसायीका अनुसार उपत्यकामा काम गर्ने करिब ७५ प्रतिशत कामदारहरू तराईमा छन्। आपूर्ति व्यवस्था सहज बनाउन र बजार अनुगमन गर्न जिम्मा पाएका वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले पनि माग उच्च रहेकाले आपूर्तिमा समस्या भएको जनाएको छ।

‘भूकम्पले जस्तापाता, डन्डीलगायत सामग्रीको माग ह्वात्तै बढेको छ,’ विभागका महानिर्देशक शम्भु कोइरालाले भने, ‘माग अत्यधिक बढेकाले आपूर्तिमा केही समस्या देखिएको छ।’ माग उच्च भएपछि केही व्यवसायीहरूले कालोबजारी गरेको फेला पर्न थालेको छ। विभागले गरेको अनुगमनमा व्यवसायीहरूले मनोमानी मूल्य असुल्ने गरेको फेला परेको थियो। ठगी गर्ने व्यवसायीलाई बयानका लागि विभागमा उपस्थित हुन निर्देशन दिइएको थियो।

ekantipur.com

कमेन्ट गर्नुहोस्
Share: