इराकको ऐतिहासिक सहर आइएसको नियन्त्रणमा

Share:

काठमाडौं, जेष्ठ ७ । इराकको रमादी सहर कब्जामा लिएको इस्लामिक अतिवादी समूह ‘आइएस’ले सिरियाको ऐतिहासिक सहर पल्माइरा पनि नियन्त्रणमा लिएको छ ।

सिरियाको ऐतिहासिक र प्राचीन सहरका रुपमा परिचित पल्माइरा कब्जा गर्नुअघि आइएस लडाकू र सुरक्षाकर्मीबीच भीषण संघर्ष भएको थियो । आइएस लडाकूको अगाडि निरीह बनेको सिरियाली फौजलाई आइएसले सहर छोड्न बाध्य तुल्याएको थियो ।

युनेस्कोले विश्व मानचित्रमा सूचीकृत गरेको उक्त सहर कलाकृति र प्राचीन सम्पदाहरुले भरिपूर्ण सहर मानिन्छ ।

यसैबीच, सिरियाका गृहमन्त्री मोहमद अल शारले ऐतिहासिक सहर पल्माइरा जसरी पनि जोगाउने बताएका छन् । आइएसले कब्जा गर्नुअघि नै त्यहाँ रहेका बहुमूल्य वस्तु हटाइसकेको जानकारी दिँदै उनले केही मन्दिर र कलाकृति भने हटाउन नसकिएको उल्लेख गरेका छन् ।

यता, इराकमा पनि ऐतिहासिक स्थल नियन्त्रणमा लिएको आइएसले प्राचीन र समकालीन कृतिहरु धमाधम नष्ट गरेको छ । आइएसले पछिल्लो समय ऐतिहासिक र प्राचीनस्थल कब्जा गरी कलाकृतिहरु नष्ट गर्ने गरेको छ ।

आइएसले इराक र सिरियाका तेल प्रशोधन केन्द्रमाथि कब्जा जमाउने प्रयास पनि जारी राखेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
Share: