
पोखरा, १३ जेठ । पोखरा—११, फुलबारीस्थित हिराबहादुर पुन र पोखरा—१० कामनामार्ग बस्ने यमकुमारी कुँवरको घरमा चोरी गर्ने चोरहरुलाई कास्की प्रहरीले पक्राउ गर्न सफल भएको छ । यी दुवै घरमा चोरी गर्ने मुख्य नाईके सन्तोष थापा लगायत दुई जनालाई कास्की प्रहरीले मंगलबार पक्राउ गरेको हो।
पुनको घरमा गत वैशाख ४ गते चोरी भएको थियो । पुनको घरमा चोरी गरेको अभियोगमा स्याङ्जा जिल्ला कोल्मा काउले गाविस—१ का सन्तोष थापालाई पक्राउ गरेको हो । थापाले पुनको घरबाट ४८ इञ्चको सोनी टेलिभिजन, सोनी कम्पनीको ल्यापटप, सिंगापुरबाट ल्याएको प्रहरीले परेड खेल्ने तरवार (क्रिज), तीनवटा घडी, सोनी क्यामेरा, पुरानो मोडलको क्यामरा र एटिएम कार्ड लगायतका धनमालहरु चोरी गरेका थिए ।
त्यसैगरी पोखरा—१०, कामनामार्ग बस्ने यमकुमारी कुँवरको घरबाट गत वैशाख २७ गते १० लाख ४५ हजार मूल्य बराबरको १७ तोला सुनका गरगहना, नगद र मोवाईल फोन चोरी गर्ने दुईजनालाई कास्की प्रहरीले जेठ १२ गते मंगलबार पक्राउ गरेको छ । कुँवरको घरबाट स्याङ्जा तीनदोबाटो गाविस वडा नं. ३ घर भई हाल पोखरा—१० बस्ने वर्ष १९ का मनोज थापा र पोखरा—१० बस्ने वर्ष २२ का मनबहादुर गुरुङ मिलेर चोरी गरेका थिए ।
हिराबहादुर पुनको घरमा चोरी गर्ने सन्तोष थापाको यस घटनामा समेत संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक केदार रजौरेले बताए । पक्राउ परेका तीनैजनालाई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।
