फिफाको अध्यक्षमा सेप ब्लाटर पाँचौपटक निर्वाचित

Share:

काठमाडौं, जेष्ठ १६ । जोसेफ सेप ब्लाटर अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा)को पाँचौ कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

स्वीट्जरल्यान्डको ज्यूरिचमा शुक्रबार राति भएको पहिलो चरणको मतदानमा दुई तिहाइ मत प्राप्त गर्न नसेपछि दोस्रो चरणको मतदान गर्नुपर्ने अवस्था आएको थियो । तर, दोस्रो चरणको मतदानपूर्व ब्लाटरका एकमात्र प्रतिस्पर्धी जोर्डनका युवराज अली बिन अल हुसैनले नाम फिर्ता लिएपछि ब्लाटर पाँचौ कार्यकालको लागि अध्यक्ष चुनिएका हुन् ।

पहिलो चरणको मतदानमा ब्लाटरले १ सय ३३ मत ल्याएका थिए भने हुसैनले ७३ मत प्राप्त गरेका थिए । दुई तिहाइ बहुमतको लागि १ सय ४० भोट आवश्यक थियो ।

विजयी भएपछि ब्लाटरले आफू सबैको अध्यक्ष भएको भन्दै फिफालाई एकता, पारदर्शीता र विश्वव्यापी सम्मानका साथ अघि बढाउने बताए । आफूले बलियो फिफा बनाउन चाहेको उल्लेख गर्दै ब्लाटरले विश्व फुटबलबाट आर्थिक अनियमितता र जालझेल हटाएरै छोड्ने प्रतिबद्धता व्यक्त गरे ।

पराजित उम्मेदवार हुसैनले आफूलाई भोट हाल्ने हिम्मत गर्ने सबैलाई धन्यवाद दिए ।

ब्लाटर फिफा अध्यक्षमा निर्वाचित भएपनि उनीसामू कठीन चुनौतीहरु छन् । युरोपेली फुटबल महासंघ युएफाले केही दिनभित्रै विशेष साधारणसभाको माग गर्नसक्ने जनाइएको छ ।

फिफाका २० प्रतिशत सदस्य राष्ट्रहरुले आग्रह गरेको खन्डमा तीन महिनाभित्र विशेष साधारणसभा बोलाउनुपर्ने वैधानिक व्यवस्था छ । यसरी विशेष साधारणसभा बोलाइएको खन्डमा ब्लाटरविरुद्ध अविश्वाशको प्रस्ताव आउन सक्छ ।

उता, निर्वाचनको केही दिनअघि दुई उपाध्यक्षसहित फिफाका ७ जना उच्च पदाधिकारीहरु घुसखोरीको आरोपमा पक्राउ परेपछि फिफा अध्यक्ष ब्लाटरमाथि नैतिक दबाबसमेत बढेको छ ।

स्वीस प्रहरीले सन् २०१८ मा रुसमा हुने विश्वकप र २०२२ मा कतारमा हुने भनिएको विश्वकप आयोजनाको जिम्मेवारी दिँदा आर्थिक चलखेल भएको हुनसक्ने भन्दै दोस्रो पटक छानबिन अघि बढाएको छ ।

यसैगरी, अमेरीकी न्याय विभागले पनि फिफाका ११ सहित कुल १४ जनामाथि सम्पत्ति शुद्धिकरण, घुसखोरीलगायतका अपराधमा मुद्दा चलाइरहेको छ ।

सन् १९९८ देखि फिफा अध्यक्षको पद सम्हाल्दै आएका सेप ब्लाटरको आगामी चार वर्षे कार्यकाल सहज हुने छैन ।

कमेन्ट गर्नुहोस्
Share: