
रेम बिक पोखरा, २२ जेठ । आर्थिक वर्षको अन्त सम्म लक्ष्य अनुसारको कर संकलन हुन नसक्ने आन्तरिक राजश्व कार्यालय पोखराले जनाएको छ । भूकम्पका कारण पोखराको पर्यटन व्यवसायमा परेको असरको प्रत्यक्ष प्रभाव कार्यालयको कर संकलनमा पर्ने देखिएको प्रमुख कर अधिकृत जगदिश्वर उपाध्यायले बताएका छन् ।
‘आन्तरिक राजश्व कार्यालय पोखराको संभावना र हब भनेकै पर्यटन व्यवसाय अर्थात सेवा व्यवसाय हो ।’ प्रमुख कर अधिकृत उपाध्यायले भने–‘होटल, रेस्टुरेन्ट, ट्रेकिङ, अल्ट्रालाईट, प्याराग्लाईडिङ लगाएतका व्यवसायमा अहिले पर्यटक शुन्य जस्तै छन् ।’ अहिले होटल २ प्रतिशत पनि बुकिङ छैन । र, यस्तो अवस्थामा आर्थिक वर्षभित्र लक्ष्य अनुसारको कर उठ्न निकै समस्या देखिएको उपाध्यायले बताए ।
होटलमा बुकिङ नभएपछि धेरै क्षेत्रलाई एकै चोटी आर्थिक प्रभाव परेको उनले बताए । उनले भनेअनुसार होटलमा काम नभएपछि धेरै होटलमा काम गर्ने कर्मचारीहरुले रोजगारी छाड्नुपरेको छ । ‘त्यहाँ काम गर्ने व्यक्तिको पारिश्रमिक कर पनि नआउने भो । खकारोबार नभएपछि भ्याट आउने कुरा पनि भएन । अब बाँकी दुई महिनामा हामीलाई लक्ष्य हासिल गर्न निकै कठिन देखिएको छ ।’ उपाध्यायले सुनाए ।
आन्तरिक राजश्व कार्यालय पोखराले यो आर्थिक वर्षमा ३ अर्ब ८२ करोड रुपैयाँ कर संकलन गर्ने लक्ष्य लिएको थियो । यद्यपी जेठ महिनासम्मको कुरा गर्ने हो भने कार्यालयले हालसम्म ३ अर्ब १४ करोड रुपैयाँ कर उठाईसकेको छ । ‘करदाता थपिएका थिए, लक्ष्य भन्दा अझै माथि पुग्थ्यौँ होला, भूकम्पले कारोबार ठप्प पारिदिएपछि बाँकी रकम उठ्न पनि समस्या नै होला जस्तो छ ।’ उपाध्यायले भने ।
लक्ष्य पुरा हुनलाई असार महिना भित्र मात्रै ६८ करोड रुपैयाँ कर उठ्नुपर्छ । तर आन्तरिक राजश्व कार्यालयले यो कुरा सजिलै सम्भव नभएको बताएको छ । आन्तरिक राजश्व कार्यालय पोखराको कार्यक्षेत्र गण्डकी र धौलागिरीका १० वटा जिल्ला हो । यो १० जिल्लामा हाल कुल करदाता संख्या ९० हजारको हाराहारीमा भएको कार्यालयको तथ्याङ्क छ ।

