
रञ्जन अधिकारी पोखरा, २३ जेठ । पोखराको फेवाताल छेउछाउमा पैदल हिँड्दै गर्दा तिर्खा लागेमा अब तपाईंलाई खानेपानी किन्नुपर्दैन । स्थानीय आमाहरुले फेवा ताल पारीको सिनेरीबाट करीब २५ सय मिटर पाईप बिछ्याएर शुद्ध पानीको व्यवस्था गरेका छन् । करीब चार लाखको लागतमा समिकोपाटनमा देवीस्थान भलछोपुवा आमा समूहको सक्रियतामा खानेपानी टंकी र ढलान बाटो निर्माण भएको हो ।
बाराही मन्दिर जाने स्थानबाट समिको पाटन क्षेत्रमा पैदल हिँड्दै तालको अवलोकन गर्ने र पार्कमा रमाउने विदेशी तथा स्वदेशी पर्यटकलाई लक्षित गरी खानेपानीको व्यवस्था गरिएको आमा समूहले जनाएको छ । आमाहरुले तीन लाख २० हजार सहयोग संकलन तथा ८० हजार बढि खर्चेर पक्की खानेपानी टंकी र बाटो निर्माण गरेका हुन् । खानेपानी र बाटोको उद्घाटन शनिबार एक कार्यक्रमका बीच पर्यटन व्यवसायी तथा समाजसेवी गणेशबहादुर भट्टराईले गरे । भट्टराईले नै खानेपानी टंकी बनाउन जग्गा उपलब्ध गराएका थिए भने उनी सहित टंक पहारी, पुष्प श्रेष्ठले बाटोका लागि जग्गा छाडिदिएका हुन् । सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।
प्रमुख अतिथि भट्टराईले आमा समूहको यस्तो पुण्य लाभ हुने कामले स्वदेशी देखि बिदेशीसम्म लाभान्वित हुने बताए । उनले केहि घरमा खानेपानी नआउने समस्या रहेकाले अब त्यो समस्या हट्ने बताउँदै सबैले आमाहरुको सिको गर्न जरुरत रहेको बताए । फरक प्रसंगमा उनले राज्यका अंगहरु कमजोर भएकाले अहिले भुकम्पले देश विपत्तिमा रहँदा युवाहरुले नेता र दलहरुलाई गाली मात्र गर्नुको तुक नभएको बताए । ‘हरेक मुलुकमा एक पुस्ताले १८ घण्टे काम गरेर देशलाई समृद्ध बनाएका छन् ।’ उनले भने– ‘यहाँ त गाली मात्र भयो, भएका युवाहरु पनि विदेशतिर । यसरी देश बन्दैन ।’
उनले भुकम्पले गर्दा जात र धर्मको नारा लिएर उर्लनेहरु अहिले चुप अवस्थामा आएको भन्दै सानो मुलुकमा यसरी नै जनता एकताबद्ध भएर अघि बढे मुलुकले चाँडै निकास पाउने बताए । भट्टराईले पोखरामा भुकम्पले प्रभाव नपारेपनि यहाँको पर्यटन व्यवसायमा असर परेकाले अब यहाँका व्यवसायीहरु भुकम्प प्रभावित स्थानमा जानुपर्ने र आफूले कास्की, लमजुङ र गोरखामा तीन विद्यालय बनाईदिने घोषणा समेत गरे ।
पोखरा ६ का पूर्व वडा अध्यक्ष चुडामणि पहारीले सात गाई दान तथा चार धाम दर्शन गरेभन्दा पाटी पौवा, चौतारा, खानेपानी निर्माणले धर्म मिल्ने बताए । फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष विष्णुबहादुर नेपालीले अब फेवाताल वरपरको बोटविरुवा संरक्षण गर्नुपर्ने खाँचो औंल्याए ।
रेडक्रस सोसाईटी बैदाम उपशाखाका सभापति मंगलबहादुर नेपाली आमा समूहलेसबैसँग हात फैलाएर पैसा जुटाएर दिनरात नभनी काम गरेर आज सबैको लागि खानेपानीको व्यवस्था गरेकोमा खुशी भएको भन्दै कार्यक्रममै भक्कानिए । सो अवसरमा काँग्रेस वडा सभापति दीपकवीर कुँवर, टोल विकास संस्था वडा समन्वय समिति पोखरा ६ अध्यक्ष गिरीराज अधिकारी, महिला समन्वय समिति वडा नंं ६ की अध्यक्ष लक्ष्मी खाती लगायतले बोलेका थिए ।
कार्यक्रमको अध्यक्षता समेत गरेकी समूहकी अध्यक्ष विष्णुमाया नेपालीले सहयोगी सबैलाई धन्यवाद दिँदै भर्खरै स्थापित आमा समूह भएपनि समाजले स्मरण गर्ने खालको काम गर्ने बताईन् । कार्यक्रममा स्वागत बुद्धिनाथ पाण्डे र संचालन शंकर तिवारीले गरेका थिए ।
