
म्याग्दी,जेठ २३ / जापानको खानी तथा भूगर्भ विभागको टोलीले म्याग्दीको काफल डाँडाको पहिरोको प्रकृति र त्यसको वस्तुस्थितिको जानकारी लिन मानवरहित यन्त्र ड्रोनको प्रयोग गरेको छ।
बिहीबार रिमोटबाट सञ्चालन हुने यन्त्र ड्रोनले राम्चेको पहिरो र प्रभावित ठाउँहरु वरपरका करिव १ किलोमिटर क्षेत्रमा उडेर यन्त्रद्धारा नै अवलोकन गरी फोटो र फुटेजहरु लिएको थियो। पहिरो आएको ठाउँको ढुङ्गा, माटो र पानी पनि परीक्षणका लागि लिएर गएको नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरत केसीले जानकारी दिए।
म्याग्दीमा पहिलो पटक प्रयोग गरिएको सो यन्त्रले काफल डाँडाको पहिरोको वास्तविकता र सम्भावित खतराको बारेमा जानकारी लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। पहिरोका कारण करिब १७ घण्टासम्म कालीगण्डकी नदी थुनिएको थियो भने पहिरोले राम्चे ९ काफलडाँडा र भगवती २ बैंसरीका २७ घर परिवार विस्थापित बनेका छन्।
पहिरो निरीक्षणका लागि आएको जापानी भूगर्भवीदको टोलीले पहिरोस्थलको माटो,ढुङ्गा र पानी परीक्षणको लागि लिएर गएका छन्।
पहिरो आएको रातिदेखि नै पहिरोस्थलमा खटिइरहेका पत्रकार केसीका अनुसार जापानी भूगर्भविद्हरूको पाँच सदस्यीय समूहले पहिरोको वर्तमान अवस्थाको वारेमा जानकारी दिन र पहिरोस्थल वरपर रहेका अन्य पहाडहरुको पनि अवस्था पहिचान गर्न सहयोगी हुने हुँदा पहिरोको ढुङ्गा,माटो र पानी साथै लिएर गएको हो।
