
काठमाडौं, जेष्ठ २५ । गत वशसाख १२ को विनाशकारी भूकम्पले कूल गार्हस्थ उत्पादन डेढ प्रतिशत बिन्दूले खुम्च्याउने भएको छ ।
चालु आर्थिक वर्ष २०७१/०७२ मा भूकम्पअघि आर्थिक बृद्धि ४ दशमलव पाँच आठ प्रतिशत हुने प्रक्षेपण गरिएकोमा भूकम्पका कारण बृद्धिदर ३ दशमबल शून्य चार प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको हो ।
केन्द्रीय तथ्यांक विभागले सोमबार पहिलोपटक आधिकारिक तथ्यांक सार्वजनिक गरेको हो । विभागले सामान्य अवस्थाको र भूकम्पपछिको अवस्थाको प्रारम्भिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गरेको हो ।
विभागका उपमहानिर्देशक सुमनराज अर्यालले यससम्बन्धी विस्तृत जानकारी गराएका हुन् । कृषि र गैरकृषि दुबैतर्फको उत्पादनमा गिरावट आएसँगै कुल गार्हस्थ उत्पादन घट्ने भएको हो ।
भूकम्पले वस्तुभाउमा क्षति पुर्याएकाले पशुजन्य उत्पादनमा आउन सक्ने गिरावटका कारण कृषि क्षेत्रको उत्पादनको बृद्धिदर १ दशमलव सात नौ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ ।
भूकम्पअघि यो क्षेत्र २ दशमलब एक सात प्रतिशतले बढ्ने अनुमान गरिएको थियो । भूकम्पले रियलस्टेट क्षेत्रमा सबैभन्दा बढी ४ बिन्दू प्रतिशतले क्षति पुर्याएको छ ।
भूकम्पअघि यस क्षेत्रको बृद्धिदर ४ दशमलब आठ छ प्रतिशत हुने अनुमान गरिएकोमा भूकम्पले यस क्षेत्रको बृद्धिदरलाई शून्य दशमलव सात सात प्रतिशतमा सीमित हुने देखिएको छ ।
यस्तै, उद्योगको बृद्धिदर ४ दशमलब पाँच पाँच हुनेमा अब २ दशमलब दुई एक प्रतिशतमा खुम्चिने भएको छ । शिक्षा क्षेत्रको बृद्धिदर पनि ६ दशमलव चार सात हुने अनुमान भएकोमा अब ४ दशमलब नौ सात प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।
वित्तीय मध्यस्थकर्ता क्षेत्रको बृद्धि पनि २ प्रतिशत हुनेमा अब १ दशमलब तीन सात प्रतिशतमात्र हुने देखिएको छ । स्वास्थ क्षेत्र एउटामा मात्र भूकम्पले परिचालन बढेर बृद्धिदर ९ दशमलब आठ दुई प्रतिशत हुनेमा १० प्रतिशत बढी पुग्ने देखिएको छ ।
भूकम्पले देशको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा बढेपनि भूकम्पका कारण ५२ अर्बले घटेर ३० खर्ब ९४ अर्ब बराबर मात्र हुने विभागको अनुमान छ ।
यो वर्ष भूकम्प नगएको भए २१ खर्ब ६१ अर्ब हुनेमा भूकम्पका कारण ३६ अर्ब घटेर २१ खर्ब २४ अर्ब हुने प्रक्षेण गरिएको छ । यो वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ७४ हजार ९ सय ८५ हुने भएको छ । गत वर्ष ७० हजार ३ सय ९४ थियो ।
भूकम्प नगएको भए परक्यापिटा जीडीपी ७७ हजार ३ सय ११ हुने विभागको अनुमान थियो । गत वर्ष कुल गार्हस्थ उत्पादन ५ दशमलव शून्य पाँच प्रतिशत रहेको विभागको संशोधित अनुमान छ ।
आर्थिक वर्ष २०६३/०६४ पछि पहिलोपटक आर्थिक बृद्धिदर सबैभन्दा न्यून रहेको हो । उक्त वर्ष बृद्धिदर पौने ३ प्रशिशत रहेको थियो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गोविन्दराज पोख्रेलले यो तथ्यांक तथ्यपरक र महत्पूर्ण रहेको भन्दै आगामी योजनामा यी विषयलाई गम्भीर किसिमले लागूगर्नुपर्ने चुनौती रहेको उल्लेख गरे ।
