
काठमाडौं, जेष्ठ २९ । पाकिस्तानले बालबालिको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘सेभ द चिल्ड्रेन’को कार्यालय बन्द गर्न आदेश दिएको छ ।
सो संस्थाका कर्मचारी पाकिस्तानविरोधी गतिविधिमा संलग्न रहेको भन्दै त्यहाँको सरकारले सेभ द चिल्ड्रेनका कर्मचारीलाई १५ दिनभित्र पाकिस्तान छोड्न पनि भनेको छ ।
आदेशसँगै इस्लामावादमा रहेको सेभ द चिल्ड्रेनको कार्यालयमा सीलबन्दी गरी ताला लगाइएको छ ।
यसअघि पनि पाकिस्तानले सेभ द चिल्ड्रेनमाथि फर्जी प्रतिवेदन दिने गरेको र अमेरिकी खुफिया एजेन्सी (सीआइए)लाई ओसामा बिन लादेनको खोजीमा सघाउ पु¥याएको आरोप लगाउँदै आएको थियो ।
सेभ द चिल्ड्रेनले भने पाकिस्तान सरकारको निर्णयप्रति आपत्ति जनाउँदै आफूहरुको कुनै पनि संस्थासँग साँठगाँठ नभएको स्पष्टिकरण दिँदै आएको थियो ।
१२ सय पाकिस्तानी कर्मचारी रहेको सो संस्था ३० वर्षदेखि त्यहाँ कार्यरत रहेको छ भने बालबालिकाको स्वास्थ्य, शिक्षा, र खाद्यान्नसँग सम्बन्धित परियोजना सन्चालन गर्दै आएको छ ।
