भीमनारायण गोल्डकप: डिफेन्डिङ च्याम्पियनलाई हराउदै ब्वाईज युनियन फाइनलमा

Share:

धनकुटा, असार ४ / ब्वाइज युनियन क्लव धनकुटामा जारी ११ औं टुर्वोग शहीद भीमनारायण अर्न्तराष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। शुक्रवार सम्पन्न सेमीफाइनल खेलमा साविक विजेता फ्यान्स क्लव विआरटीलाई पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले पराजित गर्दै पहिलो पल्ट फाइनलमा प्रवेश गरेको हो।

साविक विजेता फेन्स क्लबको लगातार दोस्रो पटक उपाधि कब्जा गर्ने योजना तुहिएको छ। निर्धारित र अतिरिक्त समयमा दुवै टीमबाट गोल नहुँदा खेल टाईब्रेकर तर्फ धकेलिएको थियो। टाईब्रेकरमा ब्वाईज युनियनको तर्फबाट अफ्रिकन खेलाडी पिटर सेगुन, एल्भीस, नान्दो हास र रुपेश क्षेत्रीले गोल गरेका थिए। क्याटेन रवि सिलवालको प्रहार पोष्ट माथिबाट बाहिरिएको थियो।

त्यस्तै फ्यान्स क्लबको तर्फबाट सुरेन थापा, रुपेश केसी र बुद्ध लामाको प्रहार मात्रै गोलमा परिणत भएको थियो। निराजन खड्काको प्रहार पोष्ट माथीबाट बाहिरिएको थियो भने सुमन लामाको प्रहार ब्वाईजका गोलकिपर दिपेश यादवले रोकेका थिए। सुरुवात देखि नै आक्रमक रुपमा प्रस्तुत भएको फ्यान्सका खेलाडीले पाएको आधा दर्जन अवसर सदुप्रयोग गर्न सकेन्।

पाँच जना अफ्रिकन मुलका खेलाडीका साथ मैदानमा उत्रिएको ब्वाईज युनियनले दोस्रो हाफमा पाएको केही अवसरहरु खेर फाल्यो। भिक्टोर, नान्दो हास, टि. विष्टले राम्रो मुभमा पनि गोल गर्न नसक्दा जीतका लागि टाईब्रेकर पर्खनु परेको थियो।

आज सम्पन्न खेलको म्यान अफ दी म्याच ब्वाइज युनियनका अफ्रिकन खेलाडी पिटर सेगुन घोषित भए। उनलाई शहीद भीमनारायण श्रेष्ठका पूत्र एवम् संविधानसभाका सदस्य मनोहरनारायण श्रेष्ठले नगद दुई हजार र एक थान फूटवल जर्सि प्रदान गरेका थिए। उपाधीको लागि ब्वाइज युनियन क्लवले राष्ट्रिय लिग लिडर झापा ११ सँग शनिवार प्रतिस्पर्धा गर्नेछ।

कमेन्ट गर्नुहोस्
Share: