
रञ्जन अधिकारी पोखरा, ७ असार । दुग्ध व्यवसायीहरुले उत्पादित दुग्धजन्य पद्धार्थमा गुणस्तरमा ख्याल राख्न सके प्रतिष्पर्धी क्षमता वृद्धि हुने बताएका छन् । दुध खेर जाने तर पाउडर दुधले बजार लिएको दुर्भाग्यपूर्ण अवस्था सामना गर्नुपरेको भन्दै उनीहरुले डेरीबाट पास्चराईजेशन भएर आएको दुध गुणस्तरको छ भन्ने उपभोक्तासामु प्रमाणित गर्न चुनौति रहेको स्वीकारे । व्यवसायीहरुले बढि भएका दुधबाट पाउडर दुध बनाउन पावर प्लान्टको आवश्यकता बोध गर्दै यसको स्थापनामा भएका पहलहरु, खुल्ला दुध नियन्त्रण गर्ने बारेमा, आयातजन्य दुध तथा दुधजन्य सामाग्री नियन्त्रण सम्बन्धमा पनि छलफल गरे ।
नेपाल डेरी एशोसियसन गण्डकी धौलागिरीले सोमबार पोखरामा आयोजना गरेको पोखरा क्षेत्रमा दुग्ध व्यवसायको समस्या र समाधान विषयक अन्तक्र्रियामा बोल्दै प्रमुख अतिथि एशोसियसनका अध्यक्ष सुमित केडियाले मापदण्ड अनुसार उत्पादन नहुँदा अस्वस्थ प्रतिष्पर्धाको सामना गर्नुपरेकाले अब व्यवसायीलाई निकै गाह्रो भएको बताए । सिताराम दुध प्रालिका प्रबन्ध निर्देशक समेत रहेका केडियाले कच्चा दुधको गुणस्तर सुधार गर्न पनि गाईभैंसीपालक कृषकहरुलाई आग्रह गरे । उनले कृषकहरुले घाँसकै समस्या देखाईरहेको बताउँदै अब फरेस्ट मिसन सञ्चालन गर्नुपर्ने बताए । उनले दुध विकास नीति २०६४ संशोधन गर्दै कार्यान्वयनको खाँचो पनि औंल्याए ।
विशेष अतिथि पशु सेवा कार्यालय कास्कीका कार्यालय प्रमुख डा. राकेश प्रजापतिले डेरी व्यवसायीको कारण नै बजारमा डेरीको दुध किन्न नखोज्ने भन्दै तितो यथार्थ पोखे । ‘मेरो छोरो नै डेरीको दुध गनायो भनेर खान मान्दैन ।’ उनले भने– ‘गुणस्तर कायम गर्न सके कसले विदेशी पाउडर दुध र पानी मिसाएको दुध किन्छ र ?’ उनले थुनिलो र खोरेत नियन्त्रणमा लागिपरेको बताउँदै कृषकलाई तालिम प्रदान गर्ने सवालमा आफु सकारात्मक रहेको बताए ।
एशोसियसनका सल्लाहकार रेशमबहादुर पन्थीले व्यवसायी मापदण्ड अनुसार नचलेसम्म यस्ता समस्याले थिचिरहने बताउँदै आईसियूका बिरामीले आँखा चिम्लेर नउमालि खाएपनि फरक नपर्ने गरी दुध उत्पादन गर्न जोड दिए । ‘बनस्पती घिउ र हाम्रो गुणस्तर एकै भए किन महंगो तिर्छन् ?’ उनले भने– ‘सबै व्यवसायी यसतर्फ ख्याल राख्दै लामो बिजनेश सोचेर काम गरौं ।’ व्यवसाय गरेको ३० वर्ष बितेको स्मरण गर्दै पन्थीले यहाँ कृषकहरुले मुल्य नपाउने, दुध खेर जाने र भारतबाट आएका पाउडर दुधले बजार लिएकोमा दुःख ब्यक्त गर्दै अब सबै सच्चिनुपर्ने र उपभोक्ताले पनि आफूले तिरेको पैसा भारत गएको छ कि किसानको हातसम्म भन्नेमा ख्याल गर्न आग्रह गरे ।
पोखरा दुग्ध प्रशोधन व्यवसायी संघका अध्यक्ष तथा सल्लाहकार पुण्यप्रसाद पौडेलले दुःख गर्ने किसानहरुले बढि फाईदा पाउनुपर्ने बताउँदै राज्यको विधि नै राम्रो नभएको बताए । नेपाल डेरी एशोसियसनका निवर्तमान अध्यक्ष मेघराज भण्डारीले संस्थागत सुदृढिकरण नै आवश्यक परेको बताउँदै गुणस्तर कायम गर्दै लागत घटाउने, उत्पादन कसरी बढाउने तर्फ सचेत हुनुपर्ने बताए । कार्यक्रममा एशोसियसनका केन्द्रिय महासचिव प्रल्हाद दाहाल, नापतौल तथा गुणस्तर कार्यालयका प्रमुख मनोज पोख्रेल, खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक शिवजी बराल, दुग्ध व्यवसायीका तर्फबाट कुस्मा दुग्ध व्यवसायी संघका अध्यक्ष शिव शर्मा पौडेल र दुग्ध उत्पादक सहकारी तथा किसानका तर्फबाट पदम अधिकारीले बोलेका थिए ।
वर्तमान समयमा नेपालमा डेरी क्षेत्रको अवसर र चुनौतिहरुको विषयमा एशोसियसनका प्रथम उपाध्यक्ष राधाकृष्ण सापकोटा र पोखरा क्षेत्रमा दुग्ध व्यवसायको समस्या र समाधान विषयमा पोखरा दुग्ध प्रशोधन व्यवसायी संघका सचिवि समेत रहेका पूर्व क्षेत्रीय संयोजक एवं हिमाल डेरीका सञ्चालक शिवहरी आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै, कार्यक्रममा व्यवसायीका तर्फबाट एशोसियसनका निवर्तमान अध्यक्ष मेघराज भण्डारी र दुध कृषकहरुका तर्फबाट सोमाकान्त ढकालले छलफलका विषयहरु बारेमा जानकारी गराएका थिए ।
एशोसियसन गण्डकी धौलागिरी क्षेत्रीय संयोजक रामचन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रममा एशोसियसनका केन्द्रिय द्वितीय उपाध्यक्ष सुरेश बहादुर श्रेष्ठले स्वागत तथा सुरेश कुमार ध्वजुले संचालन गरेका थिए ।
दुग्ध व्यवसायले मुलुकको कुल ग्राहस्थ उत्पादनमा नौ प्रतिशतको योगदान दिएको बताईन्छ । आठ लाख ५० हजार कृषक आबद्ध रहेका छन् भने २० हजारले रोजगारी प्राप्त गरेका छन् । दुग्ध व्यवसायमा १५ अर्ब बढि लगानी छ ।
