
नवराज ढुङ्गाना/पोखरा, ११ असार-
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले साउन महिना भित्र एमालेको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार निर्माण हुने दावी गरेका छन् ।
शुक्रबार बिहान पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले साउनभित्रै संविधान जारी हुने र संविधान जारी भएपछि नेकपा एमालेले सरकारको नेतृत्व लिने दावी गरेका हुन् ।
उनले आफ्नो पार्टीले सरकारको नेतृत्व लिनासाथ नेपालको पुर्ननिर्माणमा सम्पूर्ण शक्ति लगाउने पनि बताएका छन् ।
नेता ज्ञवालीले संविधान निर्माणमा जस्ले बाधा गर्छ उसलाई जनताले क्षमा नदिने भन्दै सर्वोच्च अदालतले संविधान निर्माणमा अवरोध सिर्जना गर्नु अनुपयुक्त रहेको टिप्पणी गरे ।
संविधानसभा सार्वभौम निकाय भएकाले सर्वोच्च अदालतले आगामी संविधान कस्तो बनाउने भनेर हस्तक्षेप गर्न नमिल्ने उनले बताए । कसैले संविधान निर्माणकार्य रोक्न दवाव दिँदैमा नरोकिने उनको भनाई छ ।
ज्ञवालीले भूकम्पले निम्त्याएको समस्यालाई अवसरको रुपमा लिनुपर्ने भन्दै दाताबाट आएको सहयोगलाई व्यवस्थित रुपमा खर्च गर्न चुनौती थपिएको बताए ।
त्यसलाई अधिकार सम्पन्न प्राधिकरणबाट फास्ट ट्रयाकको विधिबाट खर्च गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । नेकपा एमालेले देशभर गरी २७ हजारभन्दा बढी घर निर्माण, २४ हजारभन्दा बढी भत्किएका घर व्यवस्थित गरिएको र १ हजार ३ सय विद्यालयको पुर्ननिर्माण गरेको पनि उनले जानकारी दिए ।
एमाले नेता ज्ञवालीले लिपुलकको सन्दर्भमा एमाले स्थायी कमिटी बैठकले सरकारलाई कागजात उपलव्ध गराईदिन आग्रह गरेको र कागजात आएपछि सम्झौता सच्याउन पहल गर्ने पनि बताए । उनले आगामी फागुन महिनाभित्रै स्थानिय निकायको निर्वाचन गर्न आफुहरुले सक्दो प्रयास गर्ने पनि बताए ।
