कास्की खसी तथा कुखुरा मासु व्यवसाय समितिको अध्यक्षमा ओझा

Share:

रञ्जन अधिकारी पोखरा, २१ असार / कास्की खसी तथा कुखुरा मासु व्यवसाय समितिको तेस्रो अधिवेशन तथा साधारणसभाले भोलानाथ ओझाको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सोमबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद तिवारी, उपाध्यक्षमा गंगा अधिकारी, सचिवमा ज्ञानहरि आचार्य, कोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा देवबहादुर भट्ट क्षेत्री तथा सदस्यहरुमा पवन नेपाल, राजेन्द्र शर्मा, गंगा तिवारी, नारायणप्रसाद श्रेष्ठ र संगीता भण्डारी केसी रहेका छन् ।

सल्लाहकार समितिको चयन पहिलो बैठकले गर्ने अध्यक्ष ओझाले जानकारी दिए । २०६० सालमै कास्कीमा खसी तथा कुखुराको मासुको व्यापार गर्दै आएका व्यवसायीहरुले अशोक श्रेष्ठको नेतृत्वमा समिति गठन गरेका थिए । २०६६ देखि हालसम्म दुई कार्यकाल प्रेमप्रसाद पौडेलले नेतृत्व गरे ।

यसअघि, साधारणसभाको उद्घाटन गर्दै पोखरा उपमहानगरपालिका कार्यकारी अधिकृत उदयबहादुर राना मगरले मासुको शुद्धताका सन्दर्भमा उपभोक्ता सचेत नरहेको जनाउँदै व्यवसायी आफैंले स्वस्थ मासु बेच्न आग्रह गरे । ‘ब्यापार व्यवसाय राम्रो बनाउन बजारीकरणको पनि उत्तिकै भूमिका हुन्छ ।’ रानाले भने– व्यवसायीको सीप विकासका लागि तालिम आयोजना गर्नुपरेमा हामी तयार छौं ।’ उनले भारतबाट ४५ अर्ब मूल्यबराबरको मासु तथा तरकारीजन्य वस्तु आयात हुने भएकाले यहाँका मासु व्यवसायी नै सक्षम छ भनेर देखाउनुपर्ने आवश्यकता औंल्याए ।

विशेष अतिथि पश्चिमाञ्चल क्षेत्रीय पशु सेवा निर्देशनालयका निमित्त प्रमुख देवनन्दन शाहले नेपालमा उपभोग हुने मासु मध्ये २० प्रतिशत मात्रै खसीबोका र १५ प्रतिशत कुखुराको योगदान रहेकाले यसको बजार विस्तारिकरणका लागि व्यवसायीहरुले ध्यान दिनुपर्ने बताए । मुल्य निर्धारण, पारदर्शी रुपमा मासुको व्यापार तथा स्वस्थ मासु बेच्न सुझाव दिँदै उनले कुखुरामा नेपाल आत्मनिर्भर रहेको बताए । कुखुरापालक कृषकहरु बढ्दै रहेकाले किसानहरुको आयस्तरमा पनि वृद्धि तथा उपभोक्ताले पनि कम मुल्यमा पाएको उनको भनाई छ ।

जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा. राकेश प्रजापतिले उपभोक्ताको अधिकारबारे सचेत रहन आग्रह गर्दै निरोगी खसीबोका, कुखुरा तथा यसको मासु विक्री गर्न आग्रह गरे । उनले तालिम तथा औषधिउपचारका लागि कार्यालय तयार रहेको बताउँदै व्यवसायीहरु मिलेर अघि बढ्न जोड दिए ।

पोखरा उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष मिनराज काफ्लेले पशुपालक कृषक र उपभोक्ताबीचमा रहेर काम गर्ने मासु व्यवसायीहरु सर्वसुलभ मुल्य तर्फ ध्यान दिनुपर्ने बताउँदै कार्यक्रममा उपस्थितिको संख्या अत्यन्त न्युन भएकोमा गुनासो समेत गरे ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले होम डेलिभरि सेवा लगायतमा ध्यान दिन जरुरी रहेको बताए । कुखुरापालक किसान संघका मुक्तिराम अधिकारी, पोखरा खसीबोका सप्लायर्स समितिका ज्ञानहरि आचार्य, पत्रकार कमल पौडेल अथक लगायतले बोलेका थिए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका समितिका अध्यक्ष प्रेमप्रसाद पौडेलले हालसम्म सदस्यसंख्या पाँच सय सात रहेकोमा दुई वर्ष भित्रमा नौ सय पु¥याउने लक्ष्य रहेको जानकारी दिँदै सबै मासु व्यवसायीहरु समितिमा आबद्धताका लागि आग्रह पनि गरे । साधारणसभामा सचिव गोविन्दप्रसाद तिवारीले दुई वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । वरिष्ठ उपाध्यक्ष भोलानाथ ओझाले स्वागत मन्तव्य व्यक्त गरे । सो अवसरमा समितिले उत्कृष्ट व्यवसायी, सहयोगदाता, सल्लाहकारहरुलाई सम्मान समेत गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: