‘राणा, शाहहरुका देश थियो, अहिले नेताको छ, जनताको बनाउनुछ’: जनगायक रामेश

Share:

रञ्जन अधिकारी पोखरा, २५ असार /

हाम्लाई यस्तो लाग्छ जनता देशका मालिक हुन्
हाम्लाई यस्तो लाग्छ जनता देशका शक्ति श्रोत हुन्
जनताको आर्जनमा यो देश बाँचेको छ
जनताको परिश्रममा यो देश चलेको छ

जनताका गायक रामेशलाई देशका मालिक नै जनता हुन् भन्ने लागेको पाँच दशक बितिसक्यो तर जनता मालिक भएको हेर्ने धोको ७२ वर्षमा पाईला टेक्दा समेत पुरा हुन नसकेकोमा गुनासो छ । रामेश भन्छन् – ‘राणा, शाहहरुका देश थियो । अहिले नेताको भयो । जनताको बनाउनु छ ।’ यो ताकत सबै जनतामै रहेको उनको विश्वास छ । त्यसैले त उनी गाउँछन् ‘परिवर्तनको ढोका खोल्न जुटेका छन् यी ज्यान, ओ जनता महान् ।’ उसो त उनले महाकविका ‘सुनको बिहान’ र विमल निभाका ‘देश जनताको नाम हो’ गीत यसै गाएका होईनन् ।

असार ८, २००१ मा जहानियाँ राणा शासनकालमै पाल्पाको तानसेनमा जन्मेका उनले ओखलढुंगामा पञ्चायती शासन बुझ्दै हुर्के । सरकारी सेवा गर्ने बाबु र काँँग्रेसी समर्थक दाजुका बीच पनि विद्रोहि स्वभावका रामेश १८ वर्ष लाग्दा नलाग्दै जनताकै गीत गाउँदै हिँडे । २०२३ पछि त जनपक्षीय गीत बन्देज नै रहेपनि गाउँ गाउँमा पुगेर जनता जगाउँदै हिँडे ।

20150710_091515

नेपाली जनता सोझा छन् । तर नेताहरु मुलुकप्रति जिम्मेवार हुन नसकेकोमा खिन्नता प्रकट गर्छन् उनी । नागरिक समाज पोखराले शुक्रबार आयोजना गरेको साक्षात्कारमा रामेशले ६० जना शुभेच्छुकलाई ६० हजार बराबरको शक्तिवान् देखे । ‘तपाईं एक जनाले हजार जनालाई उठाउनुहुनेछ । देशलाई असफल हुन नदिन जनतालाई पुनः एकपटक उठ्न आह्वान गर्छु ।’ आशावादी पारामा जोशिदै गाए ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ ।’ यस्ता गीतलाई नयाँ पुस्ताले माओवादी क्रान्तिकारी गीतसँग जोड्ने कुरालाई ठाडै प्रतिवाद गर्छन् । त्यसैले त उनी जनगायक होईन जनताका गायक भनिदिएँ हुन्थ्यो भन्ने चाहन्छन् । ‘जनगायक भन्दा पार्टीका गायक जस्तो अनुभूति हुन्छ ।’ उनले हाँस्दै भने ।

२०३९ साल देखि यिनले आफु सबद्ध पार्टीको सदस्यता त्याग गरे र स्वतन्त्ररुपमा नेपाली गीत संगीतको क्षेत्रमै क्रियाशील रहे । ‘२०१९ सालदेखि जनताका गीत गायौं । गरीबको चमेली २०२९, गाउँगाउँबाट उठ २०३१ सालमा संकलन ग¥यौं । प्रजातन्त्र आएपछि मात्रै बलिदान फिल्मका लागि रेकर्ड गरिएको हो । माओवादी त कति पछि जन्मिएको ।’ एकै श्वासमा नरोकि रामेश अघि बढ्छन् – ‘के गरे माओवादीले ? पार्टीको गीत होईन, गरीब, शोषित, पीडित जनताको दुःख पोखेका हौं ।’ कम्युनिष्टहरुको नाममा त एक पैसो सम्पति हुन्न भनेर सम्झाउने माओवादीका नेताहरुले खरबौंको व्यापार व्यवसाय गरेकोमा उनले दुःखेसो पोखे । ‘केहि गर्ला भन्ने आश थियो । सत्ताको स्वादले बिग्रियो ।’ रामेश भन्छन् – ‘अब यी दल र यही नेताहरुले देश बनाउँदैनन् ।’ गायक रामेशलाई लाग्छ ‘नेताको गतिविधि ठीक छैन तर हामी निराश छैनौं । नेपाली जनताले देशलाई असफल राष्ट्र हुन दिँदैनन् ।’

‘आउ मिलाउ हाम्रा हातहरु ‘ ’ गाउँदै उनले विदेशिएका युवाहरुलाई स्मरण गरे । अरूको देश बनाउन बिदेसिएका हातले आफ्नै देश बनाउन पनि सक्षम रहेको ठहर छ उनमा । ‘नेताहरुले शासन गरेका हुन् । देश त गरीबले चलाईरहेको छ । अरब खाडीमा घोटिएकाहरुको रेमिट्यान्सले देश धानिएको छ । जनताको पसिना करले नेताहरु मोटाएका छन् । चेलीहरु बलात्कृत भएर, जिउँदा युवाहरु, लाश भएर पनि देश बचाएका छन् । उनीहरुको गीत नगाए कसको गाउने ?’ रामेश आक्रोशित मुद्रामा प्रस्तु हुन्छन् ‘आफ्नो देश बनाउन पाएनन् तर मलेसिया बनाईदिए, अरब दुबई बनाईदिए, कोरिया बनाईदिए । भारतको सीमाको सुरक्षा गरिरहेका छन्, आफ्नो सीमा एकातर्फबाट खाईरहेका छन् । अरुलाई सुख दिँदा दिँदै आफ्नो मुलुक चाहिँ किन दुःखी भयो त ? कारण एउटै हो, यिनै सत्ताधारी नेताहरुले दुःखमा डुबाए ।’

उनले आफ्नो जीवन जनतामा समर्पित गरिरहेका जीवन शर्माहरु, रगतै उम्लने गरी राष्ट्रभावले ओतप्रोत गीत रचना गर्नेहरु, गाउनेहरु, संगीत भर्नेहरु गोपाल योञ्जन, अम्बर गुरुङ । आफ्ना सहयात्री रायन, श्याम तमोट, विमल निभा, जसराज किराँती, ओम श्रेष्ठ, निरन, चन्द्र, जुगल, दुर्गालाल श्रेष्ठ लगायतलाई छुटाएनन् ।

‘यसबाहेक सयौं कलाकार थिए, कति नजानिँदो रुपमै राजनीतिमा प्रयोग गरिए, कहाँ पु¥याईए ?’ रामेश दुःख मानछन् ः ‘जनताका गीतहरु अरुहरुका पनि सयौं छन्, सबै सुन्नपर्छ । भाव बुझ्नुपर्छ । जनताको स्तर माथि उठाउने गीतहरुलाई स्थान दिन सञ्चारकर्मीहरुलाई पनि आग्रह गर्दछु ।’

उनले अहिलेसम्म तीन दर्जन सार्थक गीतहरुको एल्बम प्रकाशन गरेका छन् भने पाँच सय बढि गीत गाएका छन् । सर्वाधिक हिट चलचित्र बलिदानमा पनि यिनकै संगीत छ । सबै गीतहरु जनजिब्रोमा झुण्डिएको छ । महाकवि लक्ष्मी प्रसाद देवकोटाका ‘सुनको बिहान’, ‘चहचह चंगा’, जीन्दगीको मौसम’, नाँचु नाँचु लाग्थ्यो’, युग कवि सिद्धिचरण श्रेष्ठका पलिो राष्ट्रगान ‘हिमगिरी मण्डित’, ‘संकट पर्दछ मान्छेलाई’ देखि पारिजातका ’हिँउले कठ्याग्रिंने समय’ लाई संगीत संयोजन गरी स्वर भरिसकेका छन् । स्वरसम्राट नारायणगोपालले गाउनु अघि नै २०३१ सालमा युगकविको ‘मेरो प्यारो ओखलढुंगा’ रामेशले गाईसकेका थिए । यिनलाई पाश्चात्य संगीतमा निकै राम्रो ज्ञान छ ! आफ्ना गीतहरुको नोटेसन आफै लेख्छन ! आफै एरेंजमेंट समेत गर्छन ,पर निर्भर छैनन उनि ! दुई महिना फुर्सदिलो समयमा उनी पोखरामा छन् र संगीतकर्ममै साधनारत छन् ।

पर्यटकीय गाउँ घान्द्रुकका सोझा मान्छे, हितकारी मनकारी मान्छेलाई स्मरण गरिएको गीत नै गाए । संगीतकार, सञ्चारकर्मी टीका भण्डारी स्मरण गर्छन्– ‘राल्फा आन्दोलनमा होमिएका रामेश (मंजुलहरुले गाउँ बस्तीमा त्यसबेलाको अन्याय अत्याचार बिरुद्ध जनचेतनाको आगो सल्काए ,संकल्प अभियानले त्यस अभियानलाई उचाइमा पु¥यायो, आस्था परिवारले त्यसमा जीवन थप्ने कार्य ग¥यो ।) रामेश यी सबै घटनाका केन्द्रिय पात्र हुन् ।’ रामेश विद्यालयका संगीत प्रशिक्षक पनि हुन् । त्यसैले उनका बालगीतका एल्बम पनि छन् । नारीवादी गीतका एल्बमहरु पनि निस्किएका छन् । उनी आशावादी व्यक्ति हुन् । सोच सकारात्मक छ त्यसैले त यो उमेरमा पनि उनी युवा जोशका साथ उत्तिकै सक्रिय छन् ।

संघर्ष हो जीवन, जीवन संघर्ष हो
जीवनदेखि थाकेर बस्छु नभन
जीवनदेखि हारेर मर्छु नभन
जिन्दगी हो हार–जीत भइरहन्छ
बाधा पन्छाउँदै नदी बगिरहन्छ
हार भयो भनेर दुख नमान
रातपछि दिन हुन्छ हेर बिहान

रामेशको सांगीतिक जीवन बुझ्न स्काई टच रेष्टुरेण्टमा शुक्रबार बिहानै पोखराका विभिन्न क्षेत्रका व्यक्तिदेखि विद्यार्थी, युवाहरु उपस्थित थिए । कार्यक्रममा मानवअधिकारकर्मी खगराज आचार्य, नागरिक नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल, नागरिक अगुवा गोकुलबहादुर कार्की, सावित्री शर्मा, गीता लामिछाने विष्ट लगायतले रामेशको गीतसंगीतको चर्चा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: