मिलवाकी नेपाली परिवारद्वारा भुकम्प पीडितका लागि ६० लाख प्रदान

Share:

रञ्जन अधिकारी पोखरा, ३ साउन। अमेरिकाको मध्य पश्चिम राज्य विस्कन्सिनमा बसोबास गर्ने नेपालीहरुको संस्था मिलवाकी नेपाली परिवार (एमएनपी) ले भुकम्प प्रभावितका लागि संकलन गरेको ६० हजार डलर (६० लाख रुपैंयाभन्दा बढि) प्रधानमन्त्री राहत कोषमा प्रदान गरेको छ ।

दोलखा जिल्लाका अति दुर्गम गाउँहरु बेदपु, घ्याङसुकथोकर, दण्डखर्कका पीडितहरुलाई प्रदान गर्ने गरी रकम हस्तान्तरण गरिएको हो । विस्कन्सिन मिल्वाकीका एशोसियट प्रोफेसर समेत रहेकी संस्थाकी संस्थापक डा. कल्याणी राईले प्रधानमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री शुशिल कोईरालालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिन् ।

11756660_10204509922057081_1455344990_n

‘दुर्गम गाउँमा राहत समेत नपुगेको र अति विपन्न मानिस बसोबास गर्ने सो ठाउँका विद्यालय पनि क्षतिग्रस्त भएकाले यसैका लागि केहि सहयोग पुग्ने ठानेर सहयोग गरेका हौं ।’ डा. राईले भनिन्– ‘राहत संकलनमा सहयोग गर्ने सबै सहयोगदाताहरु धन्यवादका पात्र हुन् ।’ उनले आफूहरुले प्रदान गरेको रकम सही सदुपयोग हुने समेत विश्वास व्यक्त गरिन् । प्रधानमन्त्री कोईरालाले कोषमा संकलित रकमको सदुपयोग हुने विश्वास दिलाउँदै कोहि कसैले आशंका नगर्न आग्रह गरे । उनले प्रधानमन्त्रीको नाममा कोष खडा भएपनि यो रकम प्रधानमन्त्रीमार्फत खर्च नहुने जनाउँदै सही ठाउँमा प्रयोग भए नभएकोबारे नागरिकले पनि चासो राख्न सुझाव दिए ।

पोखरा घर भएका परिवारका अध्यक्ष तिलक केसीले आगामी दिनमा अझै सहयोग संकलन गरेर विभिन्न दुर्गम जिल्लाका गाउँहरु सहयोग प्रदान गरिने जानकारी दिए ।

वैशाख १२ को विनाशकारी भुकम्पपछि सहयोग संकलन अभियान सुरु गरिएको थियो । स्थानीय रेडियो, न्युज च्यानलहरुमा सुचना प्रसारण गर्दै, स्थानीय मन्दिरहरुमा नेपाली खाना परिकार विक्री गरेर तथा भुकम्पबाट निधन भएकाहरुका लागि आयोजित स्वस्ती शान्ति पुजा तथा दीप प्रज्ववलन लगायतका कार्यक्रमबाट सहयोग संकलन भएको अमेरिकाबाट समाजसेवी विजया गिरीले जानकारी दिईन् ।

कमेन्ट गर्नुहोस्
Share: