
रञ्जन अधिकारी पोखरा, ९ साउन । हिन्दु धर्ममा जातिय विभेद, देवताका नाममा बलिप्रथा लगायतका कुरीति नभएपनि मानिसले विभिन्न कालखण्डमा भित्राएको कुसंस्कारले अहिले यस धर्ममाथि प्रहार भईरहेकोमा चिन्ता व्यक्त गरिएको छ । अन्य धर्ममा आकर्षित गर्ने अस्त्र नै हिन्दु धर्म भित्रको कुरीति र कुसंस्कार भएकाले अब यसलाई सच्याउँदै अघि बढ्नुपर्नेमा सरोकारवालाले जोड दिए । इसाई तथा ईस्लाम धर्म मान्ने राष्ट्रहरुमा त्यो धर्म विरुद्ध बोल्न पाईने छुट छ कि छैन ? अहिले सामाजिक सञ्जालदेखि खुलेआम धर्म परिवर्तन गराउँदै हिँड्नेहरुले यसबारे सोच्दै हिन्दु धर्मको उदारता बुझ्न समेत उनीहरुले आग्रह गरे । बाईबल र बेदलाई एक ठाउँमा राखेर पढ्न दिए बेदको उपेक्षा कसैले गर्न नसक्ने र अहिले संसार नै बेदको सारमा चलेको उनीहरुको ठम्याई छ । बुझाउन नसक्नु नै कमजोरी भएको उनीहरुले स्विकारे ।
हिन्दु जागरण नेपाल, कास्कीले शनिबार पोखरामा आयोजना गरेको हिन्दु राष्ट्र नेपालको औचित्य र आवश्यकता विषयक अन्तक्र्रिया तथा छलफलमा सहभागीहरुले ९९ प्रतिशत जनताको जनमत नै हिन्दु राष्ट्र हुनुपर्ने भएकाले धार्मिक स्वतन्त्रता मात्र उल्लेख गरेर मान्य नहुने चेतावनी दिए । हिन्दु आन्दोलनका लागि साउन महिनाभित्रै पोखरामा लाखौं भक्तजन उतारेर काठमाण्डौं हल्लिने गरी प्रदर्शन गर्नुपर्ने खाँचो समेत उनीहरुले औंल्याए ।
प्रमुख अतिथि केदारेश्वर महादेवमणि मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यले हिन्दु भन्दा पहिले नेपाली हौं भन्न सक्नुपर्ने र नेपाल हिन्दु राष्ट्र नै थियो, हो र हुनेछ भन्दै यसलाई राजनीतिक दलहरुरुले बुझ्नुपर्ने बताए । ‘धर्म निरपेक्ष र धार्मिक स्वतन्त्रता एकै हो । अब यो भए देशमा गृहयुद्ध निम्तिन्छ ।’ उनले भने– ‘हिन्दुत्वका लागि मात्रै नलडौं, यो राष्ट्रको विषय भएकाले राष्ट्रका लागि लडौं ।’ डा. आचार्यले नेपालमा ९९ प्रतिशत नै हिन्दु रहेको दाबी गर्दै लोभलालच र आर्थिक प्रलोभनमा अहिले रमाएकाहरु मृत्युवरणको समयमा यही धर्ममा फर्कने उल्लेख गरे ।
विश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष वेदनिधी शर्मा तिमिल्सिनाले नेपाल हिन्दु राष्ट्र नै हुनुपर्ने भन्दै बेलैमा नेताहरु सचेत नभए देश नै नरहने चिन्ता जनाए । विश्वमा पचासौं देश क्रिश्चियन, त्यति नै संख्यामा मुस्लिम, केहि देशहरु बुद्धिष्ट देश हुने तर एकमात्रै हिन्दु राष्ट्र नेपाललाई चाहिँ निरपेक्ष बनाउनु असैह्य विषय भएको बताए ।
विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य कुलबहादुर गुरुङ कुलुले जनसागर हिन्दु धर्मको पक्षमा भएपनि यो जनमतको सम्मान गर्ने गरी हिन्दु मोर्चा बन्न नसकेकोमा दुःख व्यक्त गरे । उनले आफू केन्द्रिय सदस्य भएपनि अहिलेसम्म केन्द्रिय अध्यक्षको अनुहार समेत देख्न नपाएको भन्दै बैठक नै नबस्ने, काम नै नगर्ने अनि कसरी हिन्दु राष्ट्र बनाउन सकिन्छ ? भनेर प्रश्न गरे । ‘मलाई जनजाति, गुरुङ भएर पनि हिन्दु धर्म बोक्दै हिँड्छस् भन्छन् ।’ राप्रपा नेपालका नेता समेत रहेका गुरुङले भने– ‘राजसंस्था सहितको पूर्ण धार्मिक स्वतन्त्र सहितको सनातन हिन्दु राष्ट सापेक्ष नेपाल मुलुक हो, हुनुपर्छ ।’ उनले युरोपियन युनियनबाट पैसा नखाएका भए राजदुतले मर्यादा विपरित धर्म निरपेक्षता राख्न चिठ्ठी लेखेरै सुझाव दिँदा किन नेताहरुले विरोध गरेनन् ? भनेर प्रश्न समेत गरे ।
ब्राह्मण समाज नेपालका केन्द्रिय उपाध्यक्ष महेश पराजुलीले धर्मको लागि आन्दोलन नै नभएको बेला राजनीतिक दलहरुको बुद्धि बिग्रेर अहिले जनताबी धर्मकै नाममा फाटो आउन लागेको बताए ।
ब्राह्मण समाज नेपालका केन्द्रिय कोषाध्यक्ष पृथ्वी पौडेलले अरुलाई दोष दिनुभन्दा अहिलेका ठुला पार्टी भनिएका ठूला नेताहरुकै कारण देशले दुःख पाएको बताए । ‘यही बाहुन, क्षेत्रीहरुले नयाँ नेपालका नाममा जनताको एजेण्डा विपरित सिधै विश्वको एकमात्र हिन्दु राष्ट्र नेपाललाई धर्म निरपेक्ष भनेर लेखे ।’ उनले थपे– ‘यदि हिम्मत छ भने जनमत संग्रह गरेर देखाओस् । अस्तिको सुझाव संकलनले पनि प्रष्ट पारेको कुरा हो नि ।’
बोलबम धार्मिक संयोजक तथा विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खरालले गफ मात्रै ठूलो भएकाले अब त्यही अनुसार काम गर्नुपर्ने खाँचो औंल्याए । उनले १ प्रतिशत पनि अन्य धर्म नभएको नेपालमा अहिले यसरी डराउनुपर्ने अवस्था नेताहरुकै कारण भएको भन्दै जर्बजस्ती धर्म परिवर्तन मान्य नभएको बताए । सनातन धर्म सेवा समिति, कास्कीका अध्यक्ष रविन्द्र माकाजुले जनमत हिन्दु राष्ट्रकै पक्षमा रहेकाले यसै विषय उठान गरेर दबाब दिनुपर्ने खाँचो औंल्याए ।
कार्यक्रको अध्यक्षता समेत गरेका हिन्दु जागरण नेपाल, कास्कीका अध्यक्ष धनपति शर्माले हिन्दु धर्मावलम्बीले भरिएको नेपालमा यसरी आँखै अगाडि देशलाई गृहयुद्धमा फसाउने तयारी गरिरहँदा पनि मुकदर्शक बन्ने हो भने सन्ततिले धिक्कार्ने बताए । उनले जहाँ जसरी हुन्छ सक्दो सहयोग गर्न पनि आग्रह गरे । कार्यक्रममा राप्रपा नेपालका केन्द्रिय सदस्य रोमबहादुर भण्डारी, पोखरा पर्यटन यातायात व्यवसाय संघकी मन्दरा ढकाल, ब्राह्मण समाज नेपाल, लेखनाथ संयोजक डिल्लीरमण बास्तोला लगायतले बोलेका थिए । कार्यक्रमको संचालन कोषाध्यक्ष सुर्यप्रसाद सुवेदीले गरेका थिए ।
