पहिरोले कास्कीका तीन गाविसमा २६ जनाको मृत्यु, १८ घाईते, १३ अझै वेपत्ता

Share:

रञ्जन अधिकारी १४ साउन, पोखरा । अविरल वर्षापछि कास्कीको तीन गाविसमा गएको भिषण पहिरोमा परेर २६ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् भने १३ जना अझै हराइरहेका छन् । भदौरे तामागी ५ डुँडाफाँटमा ३ महिला एक पुरुष र एक बालक सहित ५ जना, लुम्ले ६ माझघरमा १० महिला ५ पुरुष र ३ बालक एक बालिका सहित १९ जना, ढिकुरपोखरी ९ ठुलीचौरमा १ महिला र एक पुरुष गरी २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

गएराति १२ बजे भीषण वर्षासँगै लुम्ले गाविसमा वडा नम्बर ६ मा पर्ने माझघर गाउँको १३ घर बगाएको छ । पहिरोमा परी एकै परिवारका ६ जनाको ज्यान गएको छ भने आफन्त कहाँ पाहुना आएका समेत पुरिएका छन् । पहिरोमा परेका १० जना अझै वेपत्ता छन् ।

गाउँमाथि रहेको भीरबाट खसेको पहिरोले सुरुमा २० हजार लिटरको पानी ट्याङ्कीमा क्षति पुर्याएको थियो । सुरुमा सानो जस्तो देखिएको पहिरोले पानी ट्याङ्कीलाई क्षति पुर्याएपछि ठुलो रुप लिएको थियो । पहिरोले पानी ट्याङ्ककी भत्काएपछि नेपाली कांग्रेसका क्षेत्रीय सभापति आईबहादुर गुरुङको घरलाई बगाएको थियो । त्यसपछि गुरुङको भन्दा तल पर्ने १३ घर पूर्ण क्षति पुर्याएको पहिरो पोखरा(बागलुङ राजमार्ग भन्दा पनि तलसम्म पुगेको छ । करिव ३ सय मिटरसम्म पहिरोले क्षति पुर्याएको छ ।
आईबहादुर गुरुङको घरमा बसेका छिरिङ शेर्पाको पाँच जनाको परिवार पहिरोमा परेकोमा तीन जनाको शव फेला परेको छ । प्रहरीका अनुसार ५६ वषिर्य छिरिङ शेर्पा, ३७ वषिर्य उनकी श्रीमती किशान्ती र ८ वषिर्य छोरा अर्जुनको शव फेला परेको हो । उनका दुई छोरी वेपत्ता छन् । छिरिङलाई पहिरोबाट उद्धार गरेपछि मृत्यु भएको प्रहरीले बताएको छ । ८४ वषिर्य वसन्ते विकको परिवारका ६ जना पहिरोमा पुरिएकोमा ५ जनाको शव फेला परेको छ । उनका एक नातिनी मामाघर भएकोले बाँच्न सफल भएकी छन् भने एक छोरा साउदी अरबमा रहेको स्थानियले बताएका छन् ।

विकका ३२ वर्षीया बुहारी चिजा, १४ वर्षीया नातिनी सम्झना, १० वर्षीया नातिनी सलिना, ९ वर्षीय नाती सुमिलको शव फेला परेको छ । विककी ८१ वर्षीया श्रीमती बाटुली अझै वेपत्ता छन् । ६ जनाको परिवार पहिरोमा परेपछि संजीता विक एक्ली भएकी छन् । चार दिन अघि ढिकुरपोखरीको पाउँदुरमा रहेको मामाघर गएकी उनीलाई आज विहान ठुली आमाले फोन गरेर घटनाको बारेमा जानकारी गराउँदै घर बोलाएकी छिन् । परिवार सबै गुमाएकी उनी घरी भक्कानिने र घरी एकोहोरिने गरेकी छन् । एसएलसी उर्त्तीण उनी माछापुच्छ्रे क्याम्पसमा पढ्न मामाघर गएकी हुन् । उनका बुबा रामबहादुर विक रोजगारीका लागि विदेशमा छन् ।

लुम्लेको घटनामा एकै परिवारका सुनकुमारी जिसी, उनको १० वर्षीया सुगम जिसी, ५ वर्षीय छोरा संगम जिसीको पनि मृत्यु भएको छ । भिमाद घर भई माइती आएकी मञ्जु सुनार र उनकी चार महिनाकी छोरी सिमा सुनारको पनि पहिरोमा परी मृत्यु भएको छ । लुम्लेमा पहिरोमा पुरिएका रत्ना पौडेल, पद्मे देवकोटाको पनि शव फेला परेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतका अनुसार शवको गाउँमै पोष्टमार्टम गरी आफन्तलाई बुझाउने व्यवस्था गरिएको छ । पोष्टमार्टमको लागि चिकित्सकको एक टोली लुम्लेमै छ ।

लुम्ले ६ मा बेपत्ता भएका मानिसहरु लुम्ले ६ बस्ने बर्ष २५ कि पार्वती देवकोटा, बर्ष ६ को सबिन देवकोटा, बर्ष ६८ को ईन्द्र प्रसाद देवकोटा , श्रीमती बर्ष ६२ कि रुद्रवती देवकोटा, बर्ष ९ कि सविता देवकोटा, बर्ष ४७ कि लक्ष्मी देवकोटा, बर्ष ६८ कि पद्मा देवकोटा, बर्ष ७२ कि सियोधरी देवकोटा, बर्ष ५ कि कविता शेर्पा, ५ महिनाकी अंजिला शेर्पा। रहेका छन् । लुम्ले(४ स्थित ज्ञानोदय प्रा।वि।को भवन पूर्ण क्षती भएको ।

लुम्लेमा घाइते हुनेहरुमा २० वर्षीया रिता देवकोटा, उनको ८ महिनाका छोरा नितेस देवकोटा र १८ वर्षकी जुना सुनार रहेका छन् । उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पहिरोले पोखरा(वागलुङ सडक अझै अबरुद्ध छ । बास्कोट चोकदेखी नै बाटो अबरुद्ध भएको छ ।

भदौरेमा ५ को मृत्यु

कास्कीकै भदौरे तामागीमा पहिरोले ५ जनाको ज्यान गएको छ भने १४ जना घाईते छन् । ३ बालक अझै वेपत्ता छन् । पहिरोले स्थानीय ३१ बषर्ीया गौरी पराजुली र उनका ७ बर्षे छोरा करण पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै गौरी पराजुलीकी सासु ६५ वर्षीया नन्दकली, ६५ बर्षीय टिकाराम विक र उनकी श्रीमती ५५ बर्षीया रामकुमारीको समेत मृत्यु भएको स्थानीयले जनाएका छन् । बेपत्ता हुने बालकहरुमा ५ वर्षीय विश्व पराजुली, ७ वर्षीय समिर पराजुली र १० वर्षीय मनबहादुर सुनार रहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, मनिपाल शिक्षण अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार स्थानिय शान्ति पराजुली, विमला विक, सविना पराजुली, विनोद विक, नम्रता पराजुली, निरु पराजुली, अञ्जनी पराजुली, तुलसी पराजुली, खुशी विक, कमल सुनार, अन्तिम सुनार, सुस्मा सुनार र सोनाम सुनार र माया पराजुली गम्भीर घाइते भएका छन् ।पहिरोले ५ घर बगाएको छ भने २० घरमा क्षेति पुगेको कास्की प्रहरीले जनाएको छ ।

ढिकुरपोखरीमा २ को मृत्यु

त्यस्तै ढिकुरपोखरीमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । ढिकुरपोखरी ९ ठूलाचौरमा पहिरो जाँदा स्थानिय १७ वर्षीया अस्मिता दाहाल र १९ वर्षका प्रेमराज दहालको मृत्यू भएको हो । घर माथिबाट आएको पहिरोले पुरिएकी ७५ वर्षकी टोपली दाहालको टाउको र वाँया खुट्टामा चोट लागेको छ ।

कमेन्ट गर्नुहोस्
Share: