
काठमाडौ, श्रावण १५ / नेपालले विश्व क्रिकेट लिग च्याम्पियनशिपमा स्कटल्यान्डलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । स्कटल्यान्डको आयरमा बिहीबार टस हारेर ब्याटिङ गर्न आएको नेपाल ४९।१ ओभरमा १ सय ६७ रनमा अलआउट भयो ।
नेपालबाट शरद भेषावकरले सर्वाधिक ३० रन बनाए । उनले ६६ बल खेली २ चौका प्रहार गरे । तल्लोक्रममा खेलेर वसन्त रेग्मीले १९ र अन्तिम ब्याट्सम्यान अविनाश कर्णले १७ रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी र पृथु बाँस्कोटा समान १६ रनमा आउट भए ।
कप्तान पारस खड्काले १० रन बनाए । ओपनरद्वय महेश क्षेत्री ३ र अनिल मण्डल ९ रनमा आउट भएका थिए । सोमपाल कामीले ७ रन बनाए । भेट्रान शक्ति गौचन ६ रनमा नटआउट रहे । स्कटल्यान्डबाट एलास्टडाइर इभान्सले ३ विकेट लिए । अघिल्लो हप्ता स्कटल्यान्डलाई विश्व ट्वान्टी–२० छनोटको उपाधि दिलाउदा १४ विकेट लिएका इभान्सले १० ओभरमा १८ रनमात्र खर्चे ।
नेपाल बुधबार भएको पहिलो खेलमा ३ रनले पराजित भएको थियो ।
स्कटल्यान्डको आयरमा अहिले पनि वर्षा भइरहेकाले नेपाल र स्कटल्यान्ड बीचको खेल आज थप हुने सम्भावना पातलो हुदैं गएको छ आयरमा वर्षा भइरहेको छ । आज खेल नभएको अवस्थामा स्कटल्यान्डले भोली १६८ रनको लक्ष्य पछयाउदै सुरुबाट ब्याटिङ गर्नेछ । तर भोली पनि आयरमा पानी पर्ने मौसम पूर्वानुमान छ ।
