
रञ्जन अधिकारी पोखरा, १५ साउन / गण्डकी मझौला तथा मिनि ट्रक सञ्चालक समितिको अध्यक्षमा खड्क बहादुर विश्वकर्मा चयन भएका छन् । समितिको शुक्रबार सम्पन्न चौथो अधिवेशन तथा सातौं वार्षिक साधारणसभाले विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा रामबहादुर तामाङ, सचिवमा मनोज रसाईली, कोषाध्यक्षमा प्रेमबहादुर कार्की, सहसचिव भरतकुमार खाँड तथा सदस्यहरुमा गमबहादुर गुरुङ, विष्णु थापा, कुमार गुरुङ, मेखबहादुर गुरुङ, कमल बयलकोटी, तोपबहादुर क्षेत्री चयन भए ।
यसअघि,साधारणसभाको उद्घाटन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सदस्य ऐनकुमार साईले यातायात आयोग गठन गर्नुपर्नेमा जोड दिए । उनले यातायात मजदुर तथा व्यवसायीको हक अधिकार नयाँ संविधानमा सुनिश्चितताका लागि अहिले महासंघ मरिमेटेर लागिपरेको चर्चा गर्दै महासंघको अभियानमा सबैको साथको आवश्यकता रहेको बताए ।
पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष समेत रहेका साईले बीमा सम्बन्धमा फस्र्ट पार्टी र थर्ड पार्टी बीमा एकै हुनुपर्नेमा जोड दिए । ‘समग्र यातायात क्षेत्रको सुधारका साथै यातायात व्यवसायी, मजदुरको हकहितको सवालमा महासंघ लागिरहेको छ ।’ – उनले भने– ‘ यदि हाम्रो मागउपर सुनुवार्य भएन भने महासंघ सशक्त आन्दोलनमा उत्रन्छ र हामी सबैको दायित्व आन्दोलन सफल पार्नुपर्ने रहनछ ।’ उनले कास्कीका आठ तथा गण्डकी अञ्चलमना २० संघसंगठन रहेको पनि जानकारी दिए ।
महासंघका गण्डकी अञ्चल सहसंयोजक समेत रहेका पृथ्वीराजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीले व्यवसायीहरुले पनि संगठनलाई बलियो बनाउन साथ दिनुपर्ने बताउँदै यातायात क्षेत्रमा धेरै सुधारको आवश्यकता रहेको बताए । उनले घरघडेरी नै बैंकमा धितो राखेर भविष्य पनि नभएको र सुरक्षित पनि नभएको सडकको पेशा अवलम्बन गरेका यातायात व्यवसायीलाई राज्यले राम्रो नजरले हेर्नुपर्नेमा जोड दिए ।
ट्याक्सी व्यवसाय समिति, पोखराका अध्यक्ष गान्धीराज गिरीले अहिले बीमा समस्या देखिएकोले यसतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिँदै लामो रुटमा समस्या रहेकाले यसको समाधानतर्फ लाग्नुपर्ने सुझाव दिए । टेण्डर प्रक्रियाले उपभोक्ता ठगिएकोतर्फ पनि ध्यान दिन आग्रह गर्दै उनले मिनिट्रकको भाडाको विषयमा अन्यौलता देखिएको बताए । ट्याक्सी व्यवसाय संचालनमा कठिनाई देखिएकाले यसतर्फ सरोकारवाला पक्ष गम्भीर नभए आफूहरु कडा निर्णय लिन बाध्य हुने समेत उनको चेतावनी छ ।
कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संठनका केन्द्रिय उपाध्यक्ष रुद्र गौतमले मजदुरका हकहितका सवालमा सरोकारवाला पक्ष गम्भीर हुनुपर्ने सुझाव दिए । सो अवसरमा अखिल नेपाल यातायात मजदुर संगठन कास्की अध्यक्ष सूर्यमणि लामिछाने, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कास्की अध्यक्ष विष्णु खत्री, नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष जीत गुरुङ, सामुदायिक सेवा केनद्र जिल्ला समन्वय समिति कास्की अध्यक्ष विष्णुबहादुर भट्टराई, स्थानीय श्रृंगा यातायात व्यवसायी समिति अध्यक्ष केदारप्रसाद पौडेल लगायतले बोलेका थिए ।
साधारणसभामा सचिव रामबहादुर तामाङले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रेम लिम्बुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समिति अध्यक्ष दयाराम भारतीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खड्कबहादुर बिकले स्वागत र सचिव रामबहादुर तामाङले सञ्चालन गरेका थिए ।
