
काठमाडौं, श्रावण १७ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आउँदो बिहीबार गर्न लागेको निर्वाचन स्थगित गर्न विभिन्न खेलकुदका ९ संघले माग गरेका छन् ।
निर्वाचन स्थगितको माग गर्नेमा नेपाल भलिबल संघ, नेपाल सुटिङ्ग संघ, नेपाल ब्याडमिन्टन संघ, नेपाल कराँते महासंघ, कुस्ती, जिम्नास्टिक, कबड्डी, उसु र र्याफ्टिङ्ग तथा क्यानोइङ्ग संघ हुन् । उनीहरुले ओलम्पिक कमिटिले विधि, विधान र प्रक्रिया मिचेर निर्बाचन गर्न लागेको भन्दै आपत्ति जनाएका छन् ।
उनीहरुले रुक्मशमशेर राणा तथा धु्रबबहादुर प्रधानबीच भएको गोप्य सहमतिको विरोध पनि गरेका छन् । सर्वोच्च अदालतमा दुई ओलम्पिक कमिटिको अस्तित्वलाई लिएर मुद्दा चलिरहेका बेला बिधि र प्रक्रिया नाघेर एकीकरण सम्झौता गरिएको भन्दै ती संघहरुले उक्त सम्झौता मान्य नहुने बताएका हुन् ।
रुक्मशमशेर राणा नेतृत्वमा रहेका उपाध्यक्ष किशोरबहादुर सिंहले केही ब्यक्तिहरु पद तथा कुर्सीका लागि एक भएको आरोप लगाए ।
यसैबीच, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष ध्रुबबहादुर प्रधानले माग गर्नेमध्ये सुटिङ्ग, ब्याडमिन्टन र भलिबलमात्र ओलम्पिक कमिटिसँग अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएकाले यी तीन खेलमध्ये भलिबलको आन्तरिक सहमतिपछि प्रतिनिधि आउने बताए ।
सुटिङ्ग र ब्याडमिन्टनका प्रतिनिधि भने छनोट भइसकेको प्रधानले जानकारी दिए । अन्य संघको हकमा माग राख्ने स्वतन्त्रता भए पनि त्यसले बिहीबार हुने निर्वाचनलाई भने कुनै असर नपार्ने अध्यक्ष प्रधानले स्पष्ट पारे ।
