भूकम्पमैत्री शहर सम्बन्धमा पोखरामा अन्तर शहरी बैठक

Share:

रञ्जन अधिकारी पोखरा, ३० साउन / गत वैशाख १२ र २९ गतेको भुकम्पले भएका जनधनको क्षतिपछि पनि भुकम्प प्रतिरोधी संरचना निर्माणमा चासो नदेखाएको भन्दै ईञ्जिनियरहरुले चासो व्यक्त गरेका छन् । भुकम्प गएको तीन महिना बितिसक्दा समेत पुननिर्माणका सवालमा सरकारले ठोस योजना ल्याउन नसकेको, विना नक्सा पुननिर्माण सुरु गरिएकाले भुकम्पीय जोखिमबाट बच्न यस सम्बन्धमा गम्भीर बन्नुपर्ने उनीहरुको भनाई छ ।

सोसाईटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड ईञ्जिनियरिङ फम्र्स (स्केफ) तथा सोसाईटी अफ ईञ्जिनियरिङ कन्सल्टेन्सिज (सेकोन) पोखराले रोटरी क्लब अफ माउण्ट एभरेष्ट ललितपुर, पोखरा र लेखनाथको सहयोगमा शनिबार पोखरामा आयोजना गरेको बैठकमा भुकम्पीय जोखिममुक्त शहर निर्माणका सवालमा व्यापक छलफल गरियो ।

सो अवसरमा बैज्ञानिक तथा ईञ्जिनियरहरुले चार कार्यपत्र प्रस्तुत गरे । भुकम्पमैत्री समाज कसरी बनाउने ? जोखिमबाट शहरलार्य कसरी बचाउने ? भवन संहिता सम्बन्धमा र भुकम्प पछिको पुर्ननिर्माणका विषयमा कार्यपत्र प्रस्तुत भएको थियो ।

स्केफका पूर्व अध्यक्ष बदनलाल न्याच्छ्युले भुकम्पीय जोखिमबाट बच्न अब सरोकारवाला जागरुक हुन आवश्यक रहेको भन्दै अब पनि चेत नआए ठूलो मुल्य चुकाउनुपर्ने बताए । भुकम्पबाट बच्ने प्रविधिहरु हामीसँगै रहेको उल्लेख गर्दै उनले हेलचक्राई र गल्तीले गर्दा मात्रै विनाश भएको बताए । ईञ्जिनियरहरुले नै भवन संहिता कार्यान्वयनमा उदासिनता देखाएको स्विकार्दै उनले पत्रकारहरुलाई त्यस्ता ईञ्जिनियरहरुले बनाएका संरचनाबारे सबैलाई सुसूचित गरी सार्वजनिक गर्न आग्रह पनि गरे । उनले मापदण्ड विपरितका घरहरुको नक्सा पास गराउने कार्य भईरहेको भन्दै यसलाई रोक्नुपर्ने बताए ।

रोटरी क्लब अफ माउण्ट एभरेष्ट ललितपुरका अध्यक्ष नरेश तुलाधरले अब सबै शहरहरु भुकम्पीय जोखिमबाट मुक्त हुनुपर्ने अवधारणाअनुरुप अन्तर शहरी बैठक आयोजना गरेको जानकारी दिँदै हामीसँग भएका सीप र प्रविधिलाई प्रयोग गर्नुपर्ने बताए । उनले अहिले पश्चिम क्षेत्रमा भुकम्प जान सक्ने भविष्यबाणी आईरहेको सन्दर्भमा पहिले नै सचेत बने क्षतिबाट बच्न सकिने भएकाले पनि पोखरा रोजेको बताए । हरेक शहरमा भुकम्प सम्बन्धी हेर्ने एक निकाय राख्न पनि उनले सुझाव दिए ।

कार्यक्रम संयोजक सेकोन पोखराका सुरेशप्रसाद श्रेष्ठले ३० बढि ईञ्जिनियरहरुका साथै ८० जना विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागितामा बैठक सम्पन्न भएको बताए ।

कमेन्ट गर्नुहोस्
Share: